देउवाले बोलाए कांग्रेस पदाधिकारीको बैठक


काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्न आज (बिहीबार) पदाधिकारी तथा पूर्व पदाधिकारीसहितका शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।
जेन–जी आन्दोलनका क्रममा घर डढेपछि देउवा भाडाको घरमा बस्दै आएका छन् । दुई दिने जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) देउवा र उनकी पत्नी आरजु राणा माथि बुढानीलकण्ठस्थित निवासमै कुटपिट भएको थियो।
आगजनीबाट निवास ध्वस्त भएपछि उनीहरु ललितपुरमा बस्दै आएका छन् । तर उनी बसेको स्थानबारे हालसम्म जानकारी गराइएको छैन । पदाधिकारी बैठक आज दिउँसो दिउँसो १ बजे हिमालय होटल कुपण्डोलमा बस्ने गरी बोलाइएको हो ।
जेन–जी आन्दोलनपछि पार्टीभित्र सभापति देउवालाई नेतृत्व छोड्न व्यापक दबाब छ । अहिलेसम्म कार्यवाहक सभापति समेत नदिएर आफैं नेतृत्व लिइरहेकाले महामन्त्रीद्वयको पहलमा दशैं अगाडिदेखि नै विशेष महाधिवेशन बोलाउने प्रयोजनका लागि हस्ताक्षर संकलन समेत भएको छ ।
दुई महामन्त्रीले तत्काल पार्टी पुनर्गठनको आवश्यक रहेको भन्दै आगामी मंसिरभित्र नियमित महाधिवशेन गर्ने, नियमित महाधिवेशनका लागि तयार नहुँदा विशेष अधिवेशनको तयारीमा जुट्ने योजना बनाएर अघि बढिरहेका छन्।
जेन–जी आन्दोनलको क्रममा घाइते भएर स्वास्थ्य उपचार गराइरहेका देउवा आफैंले पहिलोपल्ट पदाधिकारी र पूर्व पदाधिकारीको बैठक राखेका हुन् । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलका अनुसार केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने एजेण्डाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
‘बैठक बस्नुअघि सबै नेताहरुको छलफल गरी सहमतिबाटै पास हुने गरेर एजेण्डा तय गर्ने परम्परा रहेको छ, त्यही परम्पराअनुसार एजेन्डाका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो,’ उनले भने । एक पदाधिकारीका अनुसार पार्टीको नियमित महाधिवेशन गर्ने एजेण्डादेखि निर्वाचन र संसद् पुनर्स्थापनाको मुद्दामा समेत छलफल गरी पार्टीको संस्थागत धारणा बनाउने तयारी छ ।