`

माओवादीसँग एकताको विपक्षमा उभिए झलनाथ, पार्टी भड्खालोमा पर्ने चेतावनी (वक्तव्य)

Nepal One HD २६ असोज २०८२ १०:४६
प्रमुख खबर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताको विपक्षमा उभिएका छन् । समाजवादी र माओवादीबीच एकताको गृहकार्य भइरहेका खनालले कसैसँग पनि पार्टी एकीकरण गर्न नहुने बताएका हुन् ।

पत्नीको उपचारको सिलसिलामा भारतको नयाँदिल्लीमा रहेका खनालले पार्टीको सचिवालय बैठकमा पठाएको लिखित धारणामा लेखिएको छ, ‘कमरेडहरू यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरुलाई पार्ने दिशामा नलागौं ।’

उनले सबैभन्दा पहिले नेकपा एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणबारे निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । खनालले भनेका छन्, ‘सबभन्दा पहिले हाम्रो ४ वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरौं । ठिक बेठिक के ग¥यौं, दूध र पानी छुट्याऔँ । हामीले नवौं राष्ट्रिय महाअधिवेशनदेखि नै उठाएको युवा आवाज र कार्यविधिको कुरालाई ध्यान दिऔं ।’ खनालले आफ्नो पार्टी अध्यक्ष माधवकुमार नेपालसहित वामपन्थी दलहरु दक्षिणपन्थीको बाटोमा लागेको आरोप पनि लगाएका छन् । त्यसैले उनले प्रत्येक पार्टीमा पुनर्गठन र रुपान्तरण अनिवार्य भएको उल्लेख गरेका छन् ।

‘वामपन्थी दलले नै आम जनता र राष्ट्रलाई सही मार्ग देखाउनुपर्ने हो । तर दक्षिणपन्थीहरूका पछि लागेर हाम्रो पार्टीको नेतृत्वसहित अन्य वामपन्थी नेतृत्वहरू समेतले मुलुकको चौतर्फी सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रियतालाई सुदृढ गर्ने कार्यभारलाई छोडेर यथास्थितिवादको मार्गमा हिँडेपछि र विदेशीहरुसँग अपमानपूर्ण सन्धी र सझौता गर्न थालेपछि मुलुक भयावह संकटमा जानु र विदेशीहरूको क्रिडास्थल बन्नु अनुवार्य नै थियो । अहिले त्यही नै भइरहेको छ,’ खनालले भनेका छन् । उनको जोड छ, ‘अब देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *