मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा


जनकपुरधाम । मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले राजीनामा दिएकी छन् । मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै शर्माले आज (सोमबार) पदबाट राजीनामा दिएकी हुन् । उनी लोसपाबाट मन्त्री बनेकी हुन् । मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभाबाट विश्वासको मत लिने पूर्व सन्ध्यामा मन्त्री शर्माले राजीनामा घोषणा गरेकी हुन् । यसअघि मुख्यमन्त्री सिंहकै दलले आफ्ना मन्त्रीसहित समर्थन फिर्ता लिइसकेको छ ।
यस्तै, सत्तागठबन्धनमा रहेका कांग्रेस र एमालेले समेत यसअघि नै समर्थन फिर्ता लिइसकेका छन् । जेन–जीको आन्दोलन चर्किंदै जाँदा २४ भदौमा सिंहले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए । तर, पछि उनले राजीनामा नदिने बताएका थिए । त्यसयता उनलाई स–सम्मान पद त्याग गर्न उनको आफ्नै दलले पनि पटकपटक आग्रह गरेको थियो । तर, उनले अस्वीकार गर्दै सदनबाट विश्वासको मत लिन लागेका हुन् । अहिलेसम्मको स्थितिमा उनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को समर्थन मात्र कायम छ ।