भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्नुपर्छ, निर्वाचनको वातावरण बनेको छैन : देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनमा भएका घटनाको छानबिन गर्न माग गरेका छन् । जेनजी आन्दोलनकारीको आक्रमणबाट घाइते भएका देउवा आज पहिलो पटक सार्वजनिक भएका हुन् । पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ गतेका घटनाको छानबिनको माग गरेका हुन् । बैठकमा देउवाले लिखित सम्बोधन गर्दै दुवै दिन भएका घटनाको छानबिनको माग गरेका छन् ।
‘निर्वाचनका लागि भयरहित वातावरण बनिसकेको छैन’
सभापति शेरबहादुर देउवाले २१ फागुनका लागि घोषित निर्वाचनका लागि भयरहित वातावरण नबनेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले मुलुकमा शान्ति सुरक्षाको ग्यारेन्टी नभएको बताएका हुन् । ‘सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेको छ । तर, स्वतन्त्र र निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन,’ देउवाले भने, ‘निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था बन्छ । यसतर्फ सरकारको ध्यान जाओस् ।’