घरमा सँधै एकै जना मुली रहँदैन, १५औं महाधिवेशनबाट विदा लिन्छु : देउवा


काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १५ औं महाधिवेशनबाट विदा लिने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले वैधानिक व्यवस्थाअनुसार १५औं महाधिवेशनबाट नेतृत्व छाड्ने बताएका हुन् ।
‘म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने ‘घरमा सधैं एकै जना मुली रहँदैन’ पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन । जहाँसम्म मेरो विषय छ, मैले पहिले नै वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु । आगामी १५औं महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नु हुनेछ त्यसमा द्विविधा छैन,’ लिखित सम्बोधनमा देउवाले भने ।
१५औं महाधिवेशन कहिले गर्ने भन्नेबारे भने देउवा मौन रहे । जेन–जी आन्दोलनपछि कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको म्याद नथपी आगामी मंसिरभित्रै नियमित महाधिवेशन वा विशेष महाधिवेशनका लागि दबाब दिइरहेका छन्। १४औं महाधिवेशनका बहुमत प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरिसकेका छन् ।