`

नेपालकाे वैदेशिक मुद्रा सञ्चिति २८ खर्ब बढी, दुई महिनामा तीन खर्ब ५२ अर्ब रेमिट्यान्स

Nepal One HD २८ असोज २०८२ १८:०७
अर्थ समाचार

काठमाडौं । नेपालको वैदेशिक मुद्रा सञ्चिति २८ खर्बमाथिको पुगेको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले वृद्धि भई २०८२ भदौ मसान्तमा २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा ६.९ प्रतिशतले वृद्धि भई २५ खर्ब ८२ अर्ब ३८ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा १३.७ प्रतिशतले वद्धि भई २ खर्ब ९८ अर्ब ९७ करोड कायम भएको छ । २०८२ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत छ । आर्थिक वर्ष २०८२÷८३ को दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८२ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४७.२ प्रतिशत, १३३.१ प्रतिशत र ३६.६ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।

दुई महिनामा तीन खर्ब ५२ अर्ब रेमिट्यान्स
चालु आर्थिक वर्षको दुई महिनामा ३ खर्ब ५२ अर्ब ८ करोड बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भएको हो।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । २०८२ भदौमहिनाको विप्रेषण आप्रवाह रु. १७४ अर्ब ६७ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १२७ अर्ब ९९ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.३८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.२८७ अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ९०,१९८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४५,८८४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७६,४८५ र ४०,५८३ रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *