`

देश र कांग्रेसको नेतृत्व लिन हाम्रो पुस्ता तयार छ : नैनसिंह महर

Nepal One HD २९ असोज २०८२ ११:५३
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको आन्तरिक एकता र संगठनलाई सुदृढ बनाएर मात्र देशलाई सफल नेतृत्व प्रदान गर्न सकिने भएकाले नयाँ (हाम्रो) पुस्ता सबै साकारात्मक परिवर्तनको नेतृत्व गर्नका लागि तयार भइसकेको बताए ।

गृह जिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता महरले देशलाई वर्तमान अवस्थाबाट उकास्न २१ फाल्गुनका लागि तोकिएको निर्वाचन हुनुपर्ने र पार्टीको १५औँ महाधिवेशन समयमै सम्पन्न हुने तथा युवा पुस्ताको नेतृत्व स्थापनाको सुनिश्चितता आवश्यक रहेकोमा उनले जोड दिए ।

पार्टीभित्र विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनुपर्ने धारणा राख्दै महरले भने, ‘सबैको मतको सम्मान गर्ने प्रवृत्तिले मात्र लोकतन्त्रको रक्षा गर्छ । केन्द्रीय समितिका हरेक निर्णयहरूमा सर्वसम्मत सहमतिको जुन अभ्यास विगतमा थियो, त्यसको निरन्तरताको अपेक्षा आज पनि छ ।’ पार्टीका समस्याहरूको निकास केन्द्रीय समितिभित्रैबाट खोजिनु पर्ने उनको भनाइ छ ।

नेता महरले पार्टीको पुनर्जागरण र सुधारका निम्ति देशभर चलिरहेका बहसले पार्टीलाई थप सशक्त बनाउन बल पुग्ने विश्वास व्यक्त गरे । नियमित महाधिवेशनलाई पार्टीको जीवन्तता र एकताको प्रमुख आधारका रूपमा व्याख्या गर्दै उनले समयमै हुने महाधिवेशनले मात्र पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *