`

मस्तिष्कको अध्ययनबाट ध्यान र श्रवणका भविष्यसूचक संयन्त्र उजागर

Nepal One HD २ कार्तिक २०८२ १९:४४
रोचक

जब मानिसले कुनै कार्यमा ध्यान केन्द्रित गर्छ, त्यसबेला मस्तिष्कले केवल फरक ढङ्गले नसुनी स्मार्ट रूपमा पनि सुन्छ भन्ने तथ्य हालैको अध्ययनले पुष्टि गरेको छ ।

जेरुसेलमस्थित हिब्रू विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको नयाँ अनुसन्धानले मस्तिष्कको प्रमुख ध्वनि–प्रशोधन केन्द्र श्रवण कर्टेक्स सक्रिय संलग्नताका बेला कसरी कार्य गर्छ भन्ने नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ । यसले केवल आवाजको प्रतिक्रियामा मात्र नभई, कार्यको लयसँगै आफ्नै गतिविधिलाई सिङ्क्रोनाइज गर्ने गर्छ ।

साइन्स एडभान्सेस पत्रिकामा प्रकाशित यो अध्ययनको नेतृत्व एडमन्ड एन्ड लिली साफ्रा सेन्टर फर ब्रेन साइन्सेज र इन्स्टिच्युट अफ लाइफ साइन्सेजका प्राध्यापक इजरायल नेल्केनले गर्नुभएको हो । उहाँको नेतृत्वमा गरिएको यो अनुसन्धानले श्रवण सहायता, ध्यान प्रशिक्षण तथा मस्तिष्क–कम्प्युटर इन्टरफेस सुधार गर्न सघाउने सम्भावना देखाएको छ । यसले मस्तिष्कले कसरी ध्वनिलाई फिल्टर गर्छ र प्राथमिकता दिन्छ भन्ने संयन्त्रलाई स्पष्ट पारेको छ ।

वैज्ञानिकहरूको भनाइमा यस संयन्त्रको नक्कल गरेर विकास गरिने उपकरण र थेरापीहरूले व्यक्तिले केन्द्रित हुँदा वास्तविक समयमा पृष्ठभूमि आवाजलाई दबाउन र महत्त्वपूर्ण ध्वनिको स्पष्टता बढाउन सहयोग गर्न सक्छन् ।

शोधकर्ताहरूले जब व्यक्ति कुनै कार्यमा संलग्न हुन्छ, त्यसबेला श्रवण कर्टेक्सका न्युरोनहरू केवल बाह्य आवाजका कारण सक्रिय हुँदैनन्, प्रत्येक न्युरोन फरक क्षणमा ‘टिक’ गर्छ र केवल सुनेको कुरा प्रतिध्वनित गर्ने नभई, बरु कार्यको गतिलाई पहिचान गर्ने सङ्केत दिन्छ भन्ने पत्ता लगाएका छन् ।

प्राध्यापक नेल्केनले भन्नुभयो, “हाम्रो अध्ययनले देखाउँछ कि मस्तिष्क केवल आवाजमा प्रतिक्रिया दिँदैन, यो हामी के गर्दैछौँ भन्ने आधारमा ती आवाजहरूको अर्थलाई पुनः संरचना गर्छ । जब हामी कुनै कार्यमा केन्द्रित हुन्छौँ, श्रवण कर्टेक्सले त्यस कार्यसँग सम्बन्धित आवाजहरू अझ प्रभावकारी रूपमा सुन्छ ।”

पहिले वैज्ञानिकहरूले ध्यानले ध्वनि ग्रहणमा प्रभाव पार्छ भन्ने त जानेका थिए, तर मस्तिष्कले त्यसलाई कसरी प्रशोधन गर्छ भन्नेबारे स्पष्ट थिएनन् । नयाँ अध्ययनले ध्यानले महत्त्वपूर्ण आवाजहरू बढाएर होइन, कार्यको संरचनासँग मेल खाने गरी न्युरोनहरूको समय–गत गतिविधि पुनर्गठन गरेर कार्य गर्छ र यसको अर्थ, श्रवण कर्टेक्सले मात्र प्रतिक्रियाहरू बढाउँदैन, बरु भविष्यवाणी पनि गर्छ र अपेक्षित आवाजहरूको लागि तयारी गर्छ भन्ने देखाएको छ ।

कम्प्युटर मोडेलिङद्वारा गरिएको विश्लेषणले यो समय–आधारित गतिविधिले केही न्युरोन जडानहरूलाई अस्थायी रूपमा कमजोर पार्छ, जसले कार्यका लागि आवश्यक ध्वनिलाई अझ स्पष्ट र सटीक रूपमा बुझ्न सहयोग पु¥याउँछ भन्ने देखाएको छ । ध्यानले भोल्युम बढाउने यन्त्रझैँ काम गर्दैन, बरु यो एक अनुकूलन फिल्टरझैँ व्यवहार गर्छ—न्युरोनहरूबीच सञ्चारको ढाँचा पुनः आकार दिन्छ ।

यस संयन्त्रको उजागरले मस्तिष्कले जटिल संवेदनात्मक संसारको अर्थ कसरी बनाउँछ भन्नेबारे नयाँ दृष्टिकोण प्रदान गरेको छ । अध्ययनले हाम्रो ध्वनि–ग्रहण प्रणाली निष्क्रिय होइन, बरु भविष्यवाणीमुखी छ—यो निरन्तर आगामी आवाजहरूको तयारीमा रहन्छ भन्ने देखाएको छ ।

प्राध्यापक नेल्केनले भन्नुभयो, “यो अनुसन्धानले हामी कसरी कोलाहलपूर्ण वातावरणमा पनि ध्यान केन्द्रित रहन सक्छौँ भन्ने व्याख्या गर्छ । मस्तिष्कले अर्थपूर्ण ध्वनिलाई जोड दिन सिक्छ र अप्रासङ्गिक आवाजलाई बेवास्ता गर्छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *