`

जेनजी आन्दोलन आँधीबेहरीपछिको चट्याङ हो : मन्त्री पुन

Nepal One HD ३ कार्तिक २०८२ १५:४६
बिशेष

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई आँधीबेहरीपछिको चट्याङसँग तुलना गरेका छन् । शिक्षा मन्त्रालयको प्राङ्गणमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले उक्त आन्दोलनलाई दुर्लभ, शक्तिशाली तर अस्थायी घटनाका रूपमा चित्रित गरेका छन् ।

उनले भने, ‘अहिलेको अवस्था संक्रमणकालीन हो । जेनजी आन्दोलन भनेको चट्याङै हो । अहिलेको ठाउँमा यस्तो चट्याङ हजार वर्षपछि पनि नपर्न सक्छ । यसले थोरै विध्वंस ग–यो—त्यो पनि चेतना र चेतावनीको रूपमा ।’ उनले थपे, ‘अब कहिले यस्तो चट्याङ पर्छ, कसैलाई थाहा छैन । तर इतिहासले प्रमाणित गरिसकेको छ — यस्तो क्षणले परिवर्तनको संकेत दिन सक्छ ।’

‘६ महिनापछि फेरि किताब बेच्न जान्छु’
पुनले आफू मन्त्री बन्नुको कारण राष्ट्रप्रति रहेको कर्तव्यबोध भएको बताएका छन् । उनले भने, ‘म कसैले मन्त्री बन भनेको भएर होइन, आफैंले निर्णय लिएर आएको हुँ । परिस्थितिले मलाई बोलायो ।’ आगामी निर्वाचनबारे बोल्दै उनले स्पष्ट पारे, ‘मेरो कुनै व्यक्तिगत मनसाय छैन। म ६ महिनापछि फेरि किताब बेच्न जान्छु ।’ पार्टी खोल्ने सम्भावनाबारे प्रश्न गर्दा उनले खिसिक्क हाँस्दै भने, ‘पार्टी खोल्न कात्तिक ३० गतेभित्र खोल्नु पर्छ रे ! म त किताब बेच्न जान लागेको मान्छे । अब आफै भन्नुस त, पार्टी खोल्नुको तुक हुन्छ ?’

‘चप्पल सजिलो, जुत्ता आडम्बर’
पत्रकारहरूले ‘मन्त्री ज्यू, तपाईँ अझै पनि चप्पलमै किन हुनुहुन्छ ? यो लोकप्रियतावाद होइन ?’ भन्ने जिज्ञासामा पुनले सिधा जवाफ दिए, ‘हेर्नुहोस् साथीहरू, मैले १४ वर्षको उमेरमा चप्पल लगाउँदा देब्रे–बाहिने नचिनेर दुःख पाएको छु । त्यो कुरा मैले मेरो आत्मकथामा लेखेको छु । म सम्पन्न परिवारमा हुर्किएको होइन । अहिले पनि चप्पल लगाउँदा नै सजिलो लाग्छ ।’ उनले आफूलाई जुत्तामा असहज हुने गरेको बताए । ‘जुन तपाईंलाई चप्पल लगाउँदा अप्ठ्यारो लाग्छ, मलाई जुत्ता लगाउँदा अप्ठ्यारो लाग्छ । त्यसैले चप्पल नै लगाउँछु’, मन्त्री पुनले प्रस्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *