`

कम कर, बढी कमाई–समृद्ध नेपालको सूत्र : मिलन पाण्डे

Nepal One HD ५ कार्तिक २०८२ ८:१४
अर्थ समाचार

काठमाडौं । राजनीतिक तथा सामाजिक अभियन्ता मिलन पाण्डेले नेपालको आर्थिक भविष्यका लागि नयाँ एजेण्डा सार्वजनिक गरेका छन् । ‘उद्यमशील समाजमार्फत आर्थिक समृद्धि’ भन्ने मूल नारासहित ल्याइएको यो योजनाले तीन वटा आधारभूत मोर्चामा क्रान्तिकारी परिवर्तनको खाका प्रस्तुत गरेको छ–व्यक्तिगत आम्दानी वृद्धि, कर संरचनाको सुधार र उद्यममैत्री वातावरण निर्माण । एक टेलिभिजनमा गरेको वार्तालापको अंश सार्वजनिक गर्दै पाण्डेले यस्तो खाका प्रस्तुत गरेका हुन् ।

१,५०० डलरबाट १५ हजार डलरसम्म–के हामी सक्दैनौं ?
हाल नेपालको प्रतिव्यक्ति आय करिब १,५०० अमेरिकी डलरमा सीमित छ, जुन विश्व औसत १५,००० डलरभन्दा करिब १० गुणा कम हो ।
प्रश्न उठाइएको छ :
‘के हामी प्रत्येक नेपालीलाई मासिक १.५ लाख रुपैयाँ कमाउने अवस्थामा पुर्‍याउन सक्दैनौं ?’ अर्थशास्त्रीहरू यो लक्ष्य हासिल गर्न ३० वर्ष लाग्न सक्ने बताएका छन्, तर यो योजनाले द्रुत र व्यवहारिक उपाय खोज्ने बहस अघि सारेको छ ।
मुख्य उपायहरूमा छन् :
उद्यमशीलताको प्रवर्द्धन
लगानीमैत्री वातावरण
प्रविधि तथा नवप्रवर्तनमा जोड
युवालाई स्टार्टअप संस्कृतिमा प्रोत्साहन

कम्पनी कर घटे, कर छलि घट्ने–राजस्व झन् बढ्ने
वर्तमानमा कम्पनीहरूले २५–३० प्रतिशतसम्म कर तिर्नुपर्दा ठूलो संख्यामा कर छलि भइरहेको छ ।
प्रस्ताव अनुसार, ‘कर्पोरेट कर दरलाई घटाएर ५–१० प्रतिशत बीचमा ल्याए, कर आधार (tax base) फराकिलो भई कुल राजस्व बढ्न सक्छ ।’
यसले विदेशी तथा स्वदेशी लगानीकर्तालाई आकर्षित गर्ने र नेपाललाई ‘कर स्वर्ग’ (tax haven ) बनाउने सम्भावना पनि उजागर गरेको छ।

नागरिक करमा न्याय र स्वाभिमान–शून्यदेखि १० प्रतिशत दरको प्रस्ताव
हाल नेपाली नागरिकले १ देखि ३९ प्रतिशतसम्म आयकर तिर्नुपर्ने व्यवस्था छ ।
नयाँ सोच भन्छ, ‘यदि कर प्रणाली सरल, न्यून, र न्यायपूर्ण बनाइयो भने, धेरै नागरिक गर्वका साथ स्वेच्छाले कर तिर्न तयार हुन्छन् ।’ ०–१० प्रतिशतको दरले कर नतिर्ने प्रवृत्तिमा परिवर्तन आउन सक्ने र कर प्रशासन पनि पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।

नयाँ सोच, नयाँ बहस : आर्थिक परिवर्तनका लागि राष्ट्रिय संवाद आवश्यक
यी तीनै मुद्दामा गम्भीर राष्ट्रिय बहस आवश्यक भएको बताउँदै, योजनाकारहरूले चाँडै विस्तृत योजना र रणनीतिक दस्तावेज सार्वजनिक गरिने बताएका छन् । ‘अरूले सकेका छन् भने हामीले पनि सक्छौं, तर त्यसका लागि सोच, प्रणाली र नेतृत्वमा आमूल परिवर्तन आवश्यक छ’, उनले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *