`

बाढी महाशाखाको चेतावनी : तीन दिन सतर्कता अपनाउनू

Nepal One HD १३ कार्तिक २०८२ ८:५७
प्रमुख खबर

काठमाडौँ । बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभाव नेपालमा पनि देखिन थालेको छ । उक्त चक्रवातका कारण आगामी तीन दिन कोशी, मधेस र बागमती प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले बिहीबार जारी गरेको विशेष बाढी पूर्वानुमान बुलेटिनअनुसार, आज कात्तिक १३ गतेदेखि नै विभिन्न नदीको बहाब बढ्ने क्रममा रहने र कात्तिक १४ र १५ गते ससाना नदीहरू सतर्कता तह आसपास पुग्ने सम्भावना देखिएको छ । यस अवधिमा नदी किनारका बासिन्दा, किसान, यात्रु र स्थानीय निकायहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरूमा बहाब बढ्ने अनुमान गरिएको छ । जिल्लागत रूपमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, भोजपुर, ओखलढुंगा, खोटाङ, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिम, रुपन्देही र कपिलवस्तुमा बहने ससाना नदीमा आकस्मिक बाढी आउने मध्यम जोखिम रहेको चेतावनी दिइएको छ ।

महाशाखाले तीन दिनको पूर्वानुमानसमेत गरेको छ । बिहीबार ससाना नदीहरूमा बहाब क्रमशः बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने, शुक्रबार कोसी, मधेस र बागमती प्रदेशका केही नदीमा बहाब आकस्मिक रूपमा बढ्न सक्ने, र शनिबार दिउँसोपछि प्रणाली क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ । शनिबार अपराह्नदेखि चक्रवात कमजोर हुँदै जाने र नदीहरूको बहाब घट्दै जाने अपेक्षा गरिएको छ ।

मनसुन समाप्त भएपछि असोज २४ गतेदेखि बाढीबारे दैनिक सूचना सेवा बन्द गरेको महाशाखाले ‘मोन्था’ चक्रवातका कारण आज विशेष बुलेटिन जारी गरेको हो । महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन, मौसम र बाढीसम्बन्धी सूचना नियमित अवलोकन गर्न, अनावश्यक रूपमा नदी किनार नजान र स्थानीय प्रशासनका निर्देशन पालना गर्न अनुरोध गरेको छ ।

हेर्नुस् बाढीसम्बन्धी विशेष बुलेटिन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *