जेनजी आन्दोलनको असर : ५० दिनदेखि विमानस्थलको भीआईपी कक्ष बन्द
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित विशिष्ट (भीआईपी) कक्ष ५० दिनदेखि बन्द छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशनमा त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भीआईपी कक्ष बन्द गरेको हो ।
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष बन्द गरिएको थियो । त्यसपछि भीआईपी कक्ष खोलिएको छैन ।
केही दिनअघि अर्थमन्त्री रामेश्वर खनालले अमेरिका जाँदा तथा आउँदा र उर्जामन्त्री कुलमान घिसिङ भारत जाँदा सामान्य नागरिककै लाइनमा बसेर यात्रा गरेका थिए ।

यसै साता नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा उपचारका लागि सिंगापुर जाँदा सामान्य व्यक्तिकै लाइनमा बसेका थिए ।

विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार जेनजी प्रदर्शनका समयमा सुरक्षाका कारण भीआईपी कक्ष बन्द गरिएको थियो, । “कुनै थप निर्णय नआएकाले भीआईपी कक्ष खोलिएको छैन ।”
नेपाली सेनाले गत असोज ३१ गते जंगी अड्डामा आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाको युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते दुई हजारको संख्यामा प्रदर्शनकारी त्रिभुवन विमानस्थलमा प्रवेश गर्न खोजेको जनाएका थिए ।
प्रदर्शनकारीहरू विस्फोटक पदार्थसहित विमानस्थलमा प्रवेश गर्न खोजेका थिए । सेनाले उनीहरूलाई रोक्न सफल भएको उपरथी थापाको भनाई थियो ।
प्रदर्शनकारी विमानस्थलमा प्रवेश गर्ने खतरा बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले भदौ २४ गते साढे २ बजे एक सूचना जारी गर्दै विमानस्थल बन्द गरेको जनाएको थियो ।
कार्यालयले भदौ २५ गते साढे ११ बजे अर्को सूचना जारी गर्दै विमानस्थल बन्द रहेकाले यात्रुहरूलाई विमानस्थलमा नआउन अनुरोध गरेको थियो । भदौ २५ गते नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समितिको बैठक बसेको थियो ।
त्यसपछि त्यही दिन दिउँसो साढे ३ बजे कार्यालयले विमानस्थल पुनः सुचारु गर्ने निर्णय भएको सूचना जारी गरेको थियो ।
विमानस्थल सुचारु गरिए पनि भीआईपी कक्ष बन्ने अस्थायी रुपमा बन्द गर्ने निर्णय गरिएको थियो । त्यसपछि बन्द गरिएको भीआईपी कक्ष ५० दिन बित्दा पनि खोलिएको छैन । भीआईपीहरूले अन्तर्राष्ट्रिय तथा आन्तरिक यात्र गर्दा भीआईपी कक्षको प्रयोग गर्ने गर्थे । जेनजी प्रदर्शन लगत्तै भीआईपी कक्ष बन्द गरिएपछि भीआईपीहरू सामान्य व्यक्तिकै लाइनमा बसी यात्रा गर्दै छन् ।
नेपाल राजपत्र खण्ड ६४ (साउन ५, २०७१) संख्या १२ को सूचनाको बुँदा (ख) (३) मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय तथा आन्तरिक टर्मिनल भवनस्थित भीआईपी कक्ष प्रवेश तथा प्रयोगका लागि तोकिएका पदाधिकारीहरूलाई सम्बन्धित निकायको पत्रका आधारमा प्रवेश अनुमति दिने व्यवस्था छ ।
