राष्ट्रिय झन्डाको दुरुपयोग नगर्न आग्रह
काठमाडौँ — चन्द्रसूर्य अंकित नेपालको राष्ट्रिय झन्डाको दुरुपयोग नगर्न आग्रह गरिएको छ ।पूर्वमन्त्रीहरू ज्वालाकुमारी शाह, भगवती न्यौपाने, पूर्वराज्यमन्त्री विमला विक र राष्ट्रिय सभाका सांसद भैरवसुन्दर श्रेष्ठ, एमालेका नेताहरू पार्वती रावल, पार्वती विशुंके, अइन्द्रसुन्दर नेम्वाङ, सूर्य ढकाल, हरि राजवंशी, अफिलाल ओखडा, गोविन्द थापा र लेखक तथा विश्लेषक प्रा डा योगेन्द्र गुरुङ, डा पदम खतिवडा र सौरमराज तुलाधरलगायतले शुक्रबार संयुक्त अपिल जारी गरी पछिल्लो समयमा नेपालको झन्डाको दुरुपयोग भएको भन्दै त्यसो नगर्न आग्रह गरेका हुन् ।
उनीहरूले गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड, डकैती, चोरीलगायत घटनामा पक्राउ परेकाले राष्ट्रिय झन्डा ओढेर झन्डाको दुरुपयोग गरेका भन्दै यसरी दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्ने मागसमेत गरे ।
राष्ट्रिय झन्डाको दुरुपयोग नगर्न आह्वान गर्दै अपिलमा लेखिएको छ, ‘राष्ट्रिय झन्डा हाम्रो एकताको प्रतीक हो, आफ्ना विचार तथा मुद्दा स्थापित गराउन राष्ट्रिय झन्डा प्रयोग गर्नु किमार्थ झन्डाको सम्मान गरेको र मर्यादा राखेको ठहर्दैन । निहित स्वार्थ राखेर राष्ट्रिय झन्डाको प्रयोग गर्ने कार्यलाई निषेध गरिनुपर्छ, आफ्नो निहित मुद्दा स्थापित गर्न राष्ट्रिय झन्डा देखाएर, झन्डा अगाडि सारेर जनतालाई भावनात्मक रूपमा बहकाउमा पार्नु अनैतिक हो ।’
