‘बिकार’ बोकेर माधव माओवादीतिर, म क्रान्तिकारी बाटोतिर : झलनाथ खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रिय कमिटी वैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि पार्टी विभाजन भएको छ । शुक्रबारको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनालले असहमति जनाउँदै पार्टी पुनर्गठनको घोषणा गरेका छन् ।
२०७८ साल भदौ ९ गते माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमालेबाट अलग भएर गठन भएको एकीकृत समाजवादीभित्र अहिले खुलेर दुई धार बनेका छन् । एक पक्ष अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा माओवादी केन्द्रसँग एकतामा जाने तयारीमा छ भने अर्का वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको समूह त्यसको विरोधमा उत्रिएको छ ।
खनालले भने, ‘माधवजीले चाहिँ एकता गरे, हामीले गरेनौं । पार्टी दुई टुक्रा भयो अब ।’ उनका अनुसार माओवादीसँग एकता गर्ने निर्णयमा आफू लगायत कम्तीमा ११ जना केन्द्रीय नेताहरू असहमत छन् । खनालले आफूहरूको समूहले छिट्टै पार्टी पुनर्गठनको तयारीमा रहेको बताए। ‘पार्टी पुनर्गठनको काम तुरुन्तै गरिहाल्छौं’, उनले भने । उनले अब मार्क्सवाद–लेनिनवादी पार्टी निर्माण गर्ने बताए ।
खनाललाई वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यमा विजय पौडेल, रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ, पोलिटब्युरो सदस्य लक्ष्मण लम्साल, शिव भण्डारी, अब्दुल हुसैन, अशेष घिमिरे, दामोदर अर्याल, पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी र केन्द्रीय सदस्य आरती लामालगायतको साथ छ ।
खनालले विकृति बोकेर अध्यक्ष माधव नेपाल माओवादीमा गएको आरोप पनि लगाए । पार्टी पुनर्गठन गरौँ भन्दा नेपालले नमानेको उनको भनाई छ । ‘पुनर्गठन गर्न त माधवकुमार नेपालले मानेनन् । उनी त्यही दक्षिणपन्थी अवसरवादमा हिँड्न चाहे क्यारे । अनि जो विकार, विकृतिको झोली–तुम्बा बोकेर जान चाहे माधवजीले’ उनले भने, ‘मैले त पहिला पार्टीलाई पुनर्गठन गरौं, रूपान्तरण गरौं अनि त्यसपछाडि एकीकरणको कुरा गरौंला । सबै वामपन्थीलाई एकताबद्ध बनाऊँ भनेकै हो । तर, मानेनन् ।’
पार्टीको नेतृत्व सम्भावनाबारे उनले भने, ‘अब नयाँ साथीहरू पनि आउन सक्छन् । तर अहिले तय भइसकेको छैन, बसेर टुंग्याउँछौं ।’ एमालेमा फर्किने कि भन्ने प्रश्नमा उनले स्पष्ट रूपमा अस्वीकार गरे । ‘हामी नयाँ तरिकाले पार्टी बनाउँछौं । पार्टी पुनर्गठन हुन्छ’, उनको भनाइ छ । खनालले आफूले नेतृत्व गर्ने पुनः गठित पार्टी ‘माक्र्सवादी–लेनिनवादी, क्रान्तिकारी पार्टी’ हुने बताए ।
अनुसार अहिले माओवादी केन्द्रसँग हुने भनिएको एकता वामपन्थी एकताको होइन, वामपन्थी विभाजनलाई गहिर्याउने प्रकारको हो । ‘अध्यक्षको सारा भाषण केपी ओलीविरुद्ध थियो । नीति गलत भए त्यसको खण्डन गर्नुपर्छ, गाली गरेर होइन’, उनले भने । उनले आफ्नो पक्ष एकता विरोधी नभई ‘सही लाइनका आधारमा सबै वामपन्थीहरूलाई एकताबद्ध गर्ने’ पक्षधर भएको बताए ।
‘पहिले पार्टीलाई शुद्ध बनाऔं, क्रान्तिकारी दिशा दिऔं, त्यसपछि मात्रै एकतामा जाऊँ भन्ने मेरो भनाइ हो’, उनले भने । उनका अनुसार अब पार्टी औपचारिक रूपमा दुई भागमा विभाजन भइसकेको छ । उनले भने, ‘अब तपाईं सानो भन्नु हुन्छ वा ठूलो भन्नु हुन्छ, त्यो तपाईंको कुरा हो । तर पार्टी विभाजन भएको छ, सच्चाइ यही हो ।’
