`

अब कहाँबाट चल्ला कांग्रेस ? सानेपा कि सिंगापुर ?

Nepal One HD १८ कार्तिक २०८२ १५:१२
नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन गर्ने वा नियमित महाधिवेशनमै जाने भन्ने विवादबीच सभापति शेरबहादुर देउवाले सिंगापुरबाटै संस्थापन पक्षलाई ‘विशेष महाधिवेशन नगर्न’ निर्देशन दिएका छन् । उपचारका क्रममा सिंगापुरमा रहेका देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र अन्य निकट नेताहरूलाई फोनमार्फत पार्टीलाई नियमित महाधिवेशनतर्फ लैजान निर्देशन दिएका हुन् ।

दुई हजार ४८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति खड्कालाई विशेष महाधिवेशनको मागसहित पत्र बुझाए पनि देउवाले त्यसलाई कार्यान्वयन नगरी नियमित महाधिवेशनको वातावरण बनाउन भनेका हुन् । आइतबारको केन्द्रीय कार्यसमिति बैठक नियमित महाधिवेशन कहिले गर्ने भन्ने विवादमा स्थगित भएपछि बसेको संस्थापन पक्षीय अनौपचारिक बैठकमा खड्काले देउवाको यही निर्देशन सुनाएका थिए ।

सहमहामन्त्री किशोरसिंह राठोरले पनि आफूलाई देउवाले सिंगापुरबाटै फोन गरेर विशेष महाधिवेशन नहुने वातावरण बनाउन भनेको खुलासा गरेका छन् । देउवाको भनाइमा, ‘विशेष महाधिवेशनले पार्टीलाई राम्रो गर्दैन, नियमित महाधिवेशनमै सहमति खोज्नु पर्छ ।’ देउवा हाल पत्नी डा. आरजु राणासँग उपचारका लागि सिंगापुरमा छन् । जेनजी आन्दोलनका क्रममा कुटपिटबाट गम्भीर घाइते भएपछि उनी सिंगापुर उपचारका लागि गएका हुन् ।

नेता केसीको कटाक्ष : सानेपा निरीह, सिंगापुर शक्तिशाली
संस्थापन इतर पक्षका नेता जगदिश्वरनरसिंह केसीले पार्टी केन्द्रीय कार्यालय सानेपा ‘निरीह’ बनेको र कांग्रेस अहिले ‘सिंगापुरबाटै चलिरहेको’ आरोप लगाएका छन् । थापागाउँमा विशेष महाधिवेशन पक्षधरले आयोजना गरेको भेलामा केसीले भने, ‘सानेपा निरीह छ, सिंगापुरबाट चलेको छ, सिंगापुर शक्तिशाली र बलियो बनेको छ ।’ उनका अनुसार देउवा दम्पत्ती निर्वाचनमा आफूअनुकूल टिकट बाँड्न सिंगापुरबाट फर्केर चुनावी तयारी गर्ने योजनामा छन् ।

गगन थापाको तयारी : १५औं महाधिवेशन प्रस्ताव आजै पेस
यसैबीच, पार्टीका महामन्त्री गगन थापाले आजको केन्द्रीय समिति बैठकमा १५औं महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने तयारी गरेका छन् । धोविघाटमा सोमबार भएको छलफलपछि कार्यवाहक सभापति खड्काले बैठकमा पहिलो वक्ता भएर बोल्ने र त्यसपछि थापालाई आफ्ना कुरा राख्ने अवसर दिने सहमति भएको थियो ।

थापाले यसअघि पनि कार्यसम्पादन समितिमा मंसिरभित्र, ढिलोमा पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका थिए । तर देउवा पक्षका पदाधिकारी सहमत नभएपछि त्यो अघि बढ्न सकेको थिएन । देउवा पक्षका विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, शशांक कोइरालालगायत नेताहरूले भने चुनावपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान लिएका छन् । कार्यवाहक सभापति खड्काको अध्यक्षतामा आज दिउँसो १ बजे बस्ने बैठकमा गगन थापाले आफ्नो प्रस्ताव पेस गर्नेछन् भने देउवा पक्षले पनि वैशाख २५–२८ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गर्ने तयारी गरेको छ ।

प्रकाशशरणको प्रस्ताव : दुई प्रकृतिको कार्यतालिका बनाऔं
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले १५ औं महाधिवेशनका लागि दुई मिति राखेर कार्यतालिका ल्याउन उपयुक्त हुने प्रस्ताव राखेका छन् । प्रवक्ता महतले फागुनमा चुनाव हुन नसकेको अवस्थामा त्यसै महिना र फागुनमा चुनाव भएको अवस्थामा बैशाखमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन् । महतले शीर्ष तहका नेताहरूको छलफलमा दुई वटा मिति राखेर कार्यतालिका बनाउन उपयुक्त हुने धारणा राखेको अनलाइनखबरसँग बताए । महतले आफ्नो प्रस्तावमा दुई प्रकृतिको कार्यतालिका हुने बताए ।

फागुन वा बैशाख जुन मितिमा महाधिवेशन भएपनि क्रियाशील सदस्यताको काम भने पुस महिनाभित्र सक्ने गरी कार्यतालिका बनाउनु पर्ने बताए । ‘फागुनको महाधिवेशनको कार्यतालिका बनाएर प्रक्रिया सुरु ग¥यौं भने पुससम्म पुग्दा चुनाव हुन सक्ने÷नसक्ने संकेत देखिन्छ,’ महतले भने, ‘फागुनमा चुनाव हुन नसके त्यही महिना गरौं । फागुनमा चुनाव भए बैशाखमा महाधिवशेन गरौं ।’

कार्यतालिका पछि परिवर्तन हुने गरी अहिले निर्णय गर्न नहुने उनले बताए । अहिले कार्यतालिका ल्याउन निर्णय गरिहाल्ने र गर्दागर्दै सकिएन भनेर पछि कार्यतालिका परिवर्तन गर्न नहुने उनको जोड छ । चुनावअघि वा चुनावपछि दुई विचारका कारणले महाधिवेशनको कार्यतालिकामा टुंगो लाग्न सकेको छैन । शनिबारदेखि शीर्ष नेताहरूको बैठक बसेपनि महाधिवेशनको कार्यतालिका पेश गर्ने विषयमा सहमति जुट्न सकेन । केन्द्रीय समिति बैठक आजका लागि बोलाइएको छ ।

कांग्रेसभित्र गहिरिँदै विभाजन
देउवा समूह चुनावपछि मात्र महाधिवेशन गर्नुपर्नेमा अडिग छ भने शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्मा समूह भने चुनावअघि नै नेतृत्व फेर्नुपर्ने अडानमा छन् । यता, विशेष महाधिवेशन माग्दै महाधिवेशन प्रतिनिधिहरूले पनि नयाँ बानेश्वरमा भेला गर्दै दबाब बढाएका छन् । पार्टी नेतृत्व सिंगापुरमा रहँदा सानेपाको गतिविधि सुस्त र निर्णय प्रक्रिया अनिश्चित बनेको टिप्पणी कांग्रेसभित्रै बढ्दै गएको छ । एक नेताको भनाइमा, ‘अब कांग्रेसमा मुख्य प्रश्न महाधिवेशन कहिले भन्ने होइन, पार्टी कहाँबाट चल्दैछ भन्ने बनेको छ—सानेपाबाट कि सिंगापुरबाट ?’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *