माओवादी संसदीय व्यवस्थामा डुबुल्की मारेर सकियो, दर्ज्यानी चिन्ह मिल्काएर आयौं : राम कार्की
काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेका नेता राम कार्कीले नेपालमा माओवादी आन्दोलन पूर्ण रूपमा संसदीय राजनीतिमा समाहित भएपछि यसको सार नष्ट भएको टिप्पणी गरेका छन् । ललितपुरमा आज आयोजित वाम ध्रुवीकरण घोषणाबारेको पत्रकार सम्मेलनमा उनले भने, ‘फेरि सशस्त्र संघर्ष निरन्तर लैजान सम्भव थिएन, तर संसदीय व्यवस्थामै डुबुल्की मारेर पूर्णरूपमा सकिनु गलत भयो ।’
नेता कार्कीले अक्षम नेतृत्वलाई प्रतिस्थापित गर्न नसक्दा नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको बताएका छन् । नेकपा एकीकृत समाजवादी लगायतसँगको एकता सम्बन्धी एजेण्डा पारित गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक चलिरहँदा अलग्गै पत्रकार सम्मेलन गर्दै नेता कार्कीले नेपालमा कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको बताए ।
यति वर्ष संघर्ष गर्दा पनि आफ्नो पार्टी नेतृत्वलाई सुधार गर्न तथा विस्थापित गर्न नसकेको भन्दै उनले समाजवादका निम्ति अब एकीकृत अभियान सुरु गर्ने बताए । नेता कार्कीका अनुसार माओवादीले गरेको जनयुद्धले समाजका सबै अन्तरविरोधलाई सतहमा ल्याइदियो, र त्यो सकारात्मक ऊर्जालाई राजनीतिमा प्रयोग गर्न सकियो भए मुलुक रुपान्तरण हुनसक्थ्यो । तर सशस्त्र संघर्ष रोकिएपछि पार्टीले नयाँ बाटो समात्न सकेको छैन ।
उनले दलका वयोवृद्ध नेताहरू नेतृत्व छाड्न नचाहेको आरोप लगाउँदै भने, ‘हाम्रा नेताहरू ७५ वर्ष पुगिसक्दा पनि म छैन भने मेरो पार्टी रहँदैन भनेर हिँडिराखेका छन् । यो स्थितिको अन्त्य हुनुपर्छ ।’ भदौ २३–२४ मा भएको जेनजी आन्दोलनबारे कार्कीले भने, ‘लगातार ५० वर्षदेखि चलेको कुशासन विष्फोट भएको हो, तर त्यसका हर्ताकर्ताहरू अझै जनताको अगाडि आएर माफी माग्न सकेका छैनन् ।’
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ दलको एकता प्रक्रिया असन्तुष्ट नेताहरूको नयाँ मोर्चा बनाउने तयारीसँग पनि जोडिएको छ । कार्की, जनार्दन शर्मा र अन्जना विशंखे नेतृत्वको असन्तुष्ट पक्षले प्रचण्ड नेतृत्वको वाम ध्रुवीकरण घोषणामा भाग नलिने र छुट्टै मोर्चा निर्माण गर्ने तयारी गरिरहेको छ ।
पत्रकार सम्मेलनमा कार्कीले समाजवादी विचारधारा भएका सबैलाई एकतावद्ध हुन आह्वान गर्दै भने, ‘हामी पार्टीको पदीय भूमिका छाडेर, व्यक्तिगत पूर्वाग्रह त्यागेर नयाँ एकीकृत समाजवादी अभियान सुरु गर्न जुटेका छौं । देशभक्त, जनवादी सोच राख्ने र समाजवादलाई लक्ष्य ठान्ने सबैलाई यस अभियानमा गोलबद्ध हुन अनुरोध गर्दछौं ।’ असन्तुष्ट माओवादी पक्षले एकीकृत समाजवादीको झलनाथ खनाल, घनश्याम भूसाल र विप्लव नेतृत्वको कम्युनिष्ट पार्टी नेपालसँग मोर्चाबन्दीको तयारी पनि गरिरहेको छ । कार्कीका अनुसार यस नयाँ अभियानले पार्टीभित्रको पुरानो संरचना र व्यक्तिगत सत्ता आकांक्षालाई तोड्दै समाजवादी आन्दोलनलाई पुनर्जीवित गर्ने उद्देश्य राखेको छ ।
