`

बिना शर्त पूरानै घर फर्कदै छौं, हाँसेर बोलिदिए पुग्छ : किसान श्रेष्ठ

Nepal One HD १९ कार्तिक २०८२ १०:४६
प्रमुख खबर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले पुरानै घर नेकपा एमालेमा निःशर्त फर्किन लागेको बताएका छन् । उनले एकताभन्दा पनि पसिना बगाएको मूल घर फर्किन लागेको बताएका छन् । आज पत्रकार सम्मेलनमा उनले भने, ‘हामीलाई केही चाहिएको छैन मूल घरमा हाँसेर बोल्दिए, सम्मानजनक व्यवहार गर्दिए पुग्छ ।’ ‘हामी निःशर्त आफ्नो घर फर्किन चाहन्छौं । त्यो वातावरण बनाइ दिन अनुरोध गर्न चाहन्छु,’ श्रेष्ठले थपे ।

पत्रकार सम्मेलन गर्नुको कारण सुनाउँदै उनले भने, ‘कसैसँग समाहित वा एकता भन्दा पनि मूल घर, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा एमालेमा प्रवेश गर्ने होइन कि निःशर्त घर फर्किने सिलसिलामा पत्रकार सम्मेलन आयोजना गरेका हौं ।’ नेपालको कम्युनिष्ट आन्दोलनमा ध्रुवीकरणको नयाँ अध्याय सुरु भएसँगै नेकपा एकीकृत समाजवादीभित्र भने तीव्र मतभेद देखिएको छ । नेकपा माओवादी केन्द्रसहित ९ कम्युनिष्ट घटकहरू मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा गर्न लागेकै दिन एकीकृत समाजवादीको एउटा प्रभावशाली समूहले पार्टी परित्याग गरी नेकपा एमालेमा फर्कने घोषणा गरेको हो ।

नेतृ रामकुमारी झाँक्रीको नेतृत्वमा रहेको समूहले आज बिहान बसेरा होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमालेमा फर्कने घोषणा गरेको हो । एकीकृत समाजवादीका केही नेताहरूले माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असहमति जनाउँदै आएका थिए । उनीहरूले पार्टीको अस्तित्व र औचित्यमाथि प्रश्न उठाउँदै एमालेसँगको एकता नै स्वाभाविक हुने तर्क गर्दै आएका थिए ।

यसअघि, एकीकृत समाजवादी र माओवादी केन्द्रबीच पार्टी एकताका लागि विभिन्न चरणमा वार्ता भए पनि झाँक्री समूहलगायतका नेताहरूको असहमतिले गर्दा प्रक्रियाले पूर्णता पाउन सकेको थिएन । आजै ९ कम्युनिष्ट पार्टीहरू एक भई नयाँ दल घोषणा गर्न लागेका बेला एकीकृत समाजवादीमा आएको यो फुटले नेपालको वामपन्थी राजनीतिमा नयाँ तरङ्ग ल्याउने निश्चित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *