बयानका लागि रवि लामिछानेलाई सिंहदरबारमा पुर्याइयो {तस्वीरहरु}
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग सरकारले गठन गरेको जाँचबुझ आयोगले बयान लिँदैछ । बयानका लागि लामिछानेलाई ललितपुरको नक्खु कारागारबाट सिंहदरबारस्थित आयोगकै कार्यालयमा पुर्याइएको छ । ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीले लामिछानेलाई सिंहदरबार पुर्याइ सकिएको जानकारी दिए । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ ।
सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा लामिछाने कारागारमा छन् । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा ललितपुरको नक्खु कारागारबाट बाहिर आएको विषयमा आयोगले बयान लिन लागेको हो । जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे बयान दिन गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई बोलाएको हो ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए । रवि बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो । त्यसपछि रवि पुनः कारागारमै फर्किएका थिए ।
आयोगको टोली गत सोमबार २४ भदौमा भएको घटनाको वस्तुस्थिति अध्ययनका लागि कारागारमै पुगेको थियो । त्यसको अघिल्लो दिन जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो । उक्त दिन लामिछाने कारागारले यहाँ सुरक्षा दिन नसक्ने भन्दै पत्र दिएको बताउँदै जेलबाट बाहिर आएका थिए । आयोगले लामिछानेकी पत्नी निकिता पौडेल र रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालसँग पनि बयान लिने तयारी गरेको छ ।

