सुकुम्वासी बस्ती पुगेर दुर्गा प्रसाईंले भने, ‘यहाँ डोजर ल्याए, बालेनको घर भत्काउन जानुस्’
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध लड्न आफूले सहयोग गर्ने बताएका छन् । आज (आइतबार) मनोहराको सुकुम्बासी बस्तीमा कोणसभा गर्दै प्रसाईले मेयर बालेन शाहले गरिब र सर्वहारा वर्गको उठिबास लगाएको बताएका हुन् ।
प्रसाईले भने, ‘तपाईंहरुकोमा भत्काउन आयो भने तपाईंहरु उसको घरतिर जानुस् । श्रीमतीलाई बाहिर निकाल्नुस् । तपाईंहरुको बच्चालाई निकाल्छ भने उसको बच्चा मात्रै बच्चा हो ? उसको पनि भत्काउने हो । जसले लछारपछार गर्छ उसको स्वास्नीलाई पनि लछारपछार गर्नुस् ।’
दलहरुले सुकुम्बासीहरुलाइ भोट बैंक मात्र बनाएको बताउँदै उनले आफूले भोट नमाग्ने बरु सबैलाई पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिए । प्रसाईंले बालेनसँग मिलेर युवा तथा खेलकुद बब्लु गुप्ताले भिक्टर पौडेललाई २ करोड बुझाएर मन्त्री बनेको समेत आरोप लगाएका छन् । यसैगरी स्थानीयलाई उनले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा समर्थन जनाउन आह्वान समेत गरेका छन् । सुकुम्वासी बस्ती खाली गर्न महानगरले दिएको एक साताको ‘अल्टिमेटम’ आज सकिँदैछ । अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने महानगरको योजना छ।
