`

इन्डोनेसियाका दिवङ्गत राष्ट्रपति सुहार्तोलाई राष्ट्रिय नायक घोषणा

Nepal One HD २४ कार्तिक २०८२ १७:३२
विश्व

जकार्ता । इन्डोनेसियाका दिवङ्गत पूर्व राष्ट्रपति तथा सैन्य शासक सुहार्तोलाई सोमबार आयोजित विशेष समारोहमार्फत राष्ट्रिय नायकको रूपमा घोषणा गरिएको छ ।

उनको मानव अधिकार अभिलेखका कारण कार्यकर्ता र शिक्षाविद्हरूको तीव्र विरोध हुँदाहुँदै पनि सरकारको निर्णय अनुसार उनलाई राष्ट्रका ‘नायकहरूको सूची’ मा समावेश गरिएको हो ।

राष्ट्रपतिको सैन्य सचिवले पढेको औपचारिक आदेशअनुसार सुहार्तोलाई यो वर्षका १० नयाँ राष्ट्रिय नायकमध्ये एकका रूपमा घोषित गरिएको हो । तीमध्ये इन्डोनेसियाका पहिलो लोकतान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति, प्रमुख महिला अधिकार अधिवक्ताहरू, इस्लामिक विद्वानहरू र स्वतन्त्रता सेनानीहरू पनि सामेल छन् । हालसम्म राष्ट्रिय नायकहरूको सूचीमा २०० भन्दा बढी व्यक्तिको नाम सूचीकृत भइसकेको छ ।

वर्तमान राष्ट्रपति प्रबोवो सुबिआन्तोले सोमबारको राष्ट्रिय नायक दिवसको अवसरमा आयोजित भव्य समारोहको अध्यक्षता गरेका छन् । प्रबोवो दिवङ्गत सुहार्तोका पूर्व ज्वाइँ समेत हुन् ।

सुहार्तोलाई राष्ट्रिय नायकको उपाधि दिने तयारीले देशभर विवाद र आक्रोशको लहर उठाएको थियो । सोबारे प्रश्न उठेपछि राष्ट्रपति प्रबोवोको कार्यालयले राष्ट्रपतिलाई उपाधि प्रदान गर्ने संवैधानिक अधिकार रहेको भन्दै निर्णयको बचाउ गरेको थियो ।

सन् १९६७ मा असफल सैनिक कूपछि सुहार्तोले सत्ता हातमा लिएको थियो र तीन दशकभन्दा बढी समयसम्म इन्डोनेसियामा शासन गरेको थियो । उनको शासनकाल राजनीतिक असहमतिमाथिको कठोर दमन, मानव अधिकार उल्लङ्घन र व्यापक भ्रष्टाचारका आरोपले कलङ्कित बनेको थियो । सन् २००८ मा उहाँको ८६ वर्षको उमेरमा निधन भएको थियो ।

गत हप्ता करिब ५०० नागरिक समाजका प्रतिनिधि, मानव अधिकारकर्मी र शिक्षाविद्हरूले संयुक्त रूपमा राष्ट्रपति प्रबोवोलाई सार्वजनिक पत्र पठाउँदै सुहार्तोलाई नायक घोषणा नगर्न आग्रह गरेका थिए । पत्रमा भनिएको थियो, “सुहार्तोलाई उपाधि प्रदान गर्नु लोकतान्त्रिक मूल्यहरूको अपमान हो र इतिहासको खतरनाक विकृति हो, जसले उनका पीडितहरूलाई पुनः घाइते बनाउँछ ।”

मानव अधिकार समूह कोन्ट्रासका संयोजक डिमास बागुस आर्याले एएफपीसँग कुरा गर्दै सुहार्तोलाई राष्ट्रिय नायक घोषणा गर्नु ‘अनैतिक कदम’ भएको बताए । उनका शब्दमा, “मानव अधिकार उल्लङ्घन र राज्य हिंसामा संलग्न भएको आरोप लागेका व्यक्ति राष्ट्रका नायक कहलिन योग्य हुँदैनन् । यस्तो निर्णयले दण्डहीनतालाई सामान्य बनाउन सहयोग गर्छ ।”

तर राज्य सचिव प्रसेतियो हादीले भने सरकारको निर्णयको बचाउ गर्दै भने, “यो निर्णय हाम्रो इतिहास र पूर्व नेताहरूको योगदानप्रति सम्मान प्रकट गर्ने एक हिस्सा हो । सुहार्तोले पनि आफ्नो समयमा राष्ट्र र जनताका लागि उल्लेखनीय योगदान गरेका छन् ।”

सोमबारको समारोहमा सुहार्तोकी छोरी सिती हरदियन्ती रुक्माना र छोरा बाम्बाङ त्रिहातमोद्जो समेतको उपस्थिती रहेको थियो । समारोहपछि सितीले सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै भनीन्, “कृपया मेरा बुबाले देशका लागि युवावस्थादेखि बुढेसकालम्म गरेका सङ्घर्षहरू सम्झनुहोस् । उहाँले इन्डोनेसियाका जनताको हितका लागि आफ्नो जीवन अर्पण गर्नुभएको थियो ।”

यस वर्ष सम्मानित अन्य नौ व्यक्तिमध्ये श्रमिक अधिकारका लागि लड्दा मारिएकी कार्यकर्ता मार्सिना र सन् २००९ मा निधन भएका पूर्व राष्ट्रपति अब्दुर्रह्मान वाहिद समेत रहेका छन् ।

प्रबोवोले नेतृत्व गरेको यो निर्णयले इन्डोनेसियामा पुनः पुराना घाउहरू चर्काउने र राजनीतिक तथा नैतिक बहसलाई पुनः जीवित बनाएको विश्लेषकहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *