मधेस प्रदेशको अवस्था हेरेर बाटोमै शपथ लिन बाध्य भएँ : मुख्यमन्त्री यादव
काठमाडौं । मधेस प्रदेशका नव नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको अवस्थालाई हेरेर बाटोमै शपथ ग्रहण गरेको बताएका छन् । सञ्चारकर्मीहरुसँग सोमवार साँझ जनकपुरधाममा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संविधानले दिएको अधिकारअनुसार आफू मुख्यमन्त्री भएको जिकिर गरे । प्रदेश प्रमुख सुमित्रा भण्डारी बिरामी भएर काठमाडौं निस्किएपछि प्रदेशको र अहिलेको अवस्थालाई मध्यनजर गरी आफूले नै बाटोमै भए पनि नियुक्ति दिइसकेपछि शपथ ग्रहण गराउन आग्रह गरेको बताए । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हिसावले आफू मुख्यमन्त्री भएको र यो कुनै पूर्वयोजना नरहेको बताए । बाध्यात्मक अवस्थामा बनेको मुख्यमन्त्रीबाट संविधान, राष्ट्रियता, राष्ट्रिय अखण्डता र संघीय लोकतान्त्रिक गणतन्त्रमा कुनै आघात नहुने दाबी गरे ।
उनले भने, ‘प्रदेश प्रमुख बिरामी भएर काठमाडौं हिँडिसक्नु भयो भन्ने थाहा पाएपछि मैले फोन गरेँ, मान्य प्रदेश प्रमुख ज्यु तपाईं मलाई शपथ नखुवाई जान सक्नु हुन्न । म त बिरामी भएँ, कार्यवाहक मुख्यमन्त्री ज्युलाई भनेको छु भन्नु भयो । नियुक्ति दिने अनि शपथ नगराउने ? शपथ ग्रहण गराएर जानुपर्यो । तपाईं कहाँ हुनुहुन्छ, त्यहीँ आउँछु, त्यहीँ शपथ ग्रहण गराउनुस् भन्ने परिवेशमा उत्पन्न भएको शपथ ग्रहणको समय हो ।’
उनले भने, ‘सतिश सिंहजीको शपथ ग्रहण कहाँ भएको थियो ? सरोज यादवजीको शपथ ग्रहण कहाँ भएको थियो ? मुख्यमन्त्रीजीको कार्यालय अगाडि पट्टि भएको होइन ? त्यो भन्दा अघिल्लो मुख्यमन्त्रीजीको कहाँ भएको थियो ? प्रदेश कार्यालयमा भएको थियो । तीन जना मुख्यमन्त्रीको शपथ ग्रहण फरक–फरक ठाउँमा भएकै हो त । एकै ठाउँमा हुनुपर्ने जरुरी छैन नि त ।’ मुख्यमन्त्री यादवले नियुक्त मुख्यमन्त्रीले शपथ ग्रहण नगरेसम्म कार्यवाहक मुख्यमन्त्री नै नेतृत्वमा रहने भएकाले अहिलेको स्थितिलाई हेरेर शपथ ग्रहणका लागि आफू बाटोमै पुगेको बताए । आफू ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री भएको पनि उनले बताए ।
