`

गृहमन्त्रीसँगको वार्तामा दुर्गा प्रसाई आफै किन गएनन् ?

Nepal One HD २६ कार्तिक २०८२ ११:२८
प्रमुख खबर

काठमाडौं । सरकार र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ महाअभियान’ बीच गृह मन्त्रालयमा वार्ता हुँदैछ । प्रसाईं समूहले मंसिर ७ गतेबाट देशव्यापी आन्दोलनको घोषणा गरिरहेका बेला वार्ता हुन लागेको हो । वार्ताको तयारी पूरा भइसकेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जनाएका छन् । यद्यपि, प्रसाईं भने आजको मन्त्रीस्तरीय वार्तामा सहभागी नहुने भएका छन् ।

उनको समूहबाट माधवप्रसाद खतिवडा, देवीप्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्रप्रसाद रायमाझी र मकबुल साह लगायतका प्रतिनिधिहरू सहभागी हुनेछन् । समूहका नेता खतिवडाले भने, ‘हामी मन्त्रीस्तरीय वार्तामा सहभागी हुन गृह मन्त्रालय जाँदैछौं। प्रधानमन्त्रीस्तरीय वार्तामा दुर्गा दाइ बस्नु हुन्छ ।’ यसअघि सरकारले कात्तिक १८ गते नै प्रसाईंको समूहलाई वार्ताका लागि पत्राचार गरेको थियो । अधिवक्ताद्वय लवन न्यौपाने र विनोदमणि भट्टराईले वार्ता सहजीकरणको भूमिका निर्वाह गरिरहेका छन् । प्रसाईं समूहले मंसिर ७ गतेबाट देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

यसअघि गत चैत १५ गते प्रसाईंको नेतृत्वमा तीनकुनेमा भएको आन्दोलन हिंसात्मक मोडमा पुगेको थियो, जहाँ तोडफोड, आगजनी र लुटपाट समेतका घटनाहरू भएका थिए । यसपटक प्रसाईंले आन्दोलनका लागि नेपाली कांग्रेस बीपीसँग सहकार्य गरेका छन् । आन्दोलनको तयारीका क्रममा उनले कात्तिक २३ गते काठमाडौंको सुकुमवासी बस्तीमा आयोजित कार्यक्रममा उत्तेजक अभिव्यक्ति दिएको सुरक्षा अधिकारीहरू बताउँछन् । आन्दोलन फेरि हिंसात्मक बन्न सक्ने आशंकामा सुरक्षा निकायले प्रसाईं र उनको समूहका गतिविधिमाथि निगरानी बढाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *