मंसिरका लागि थप घट्यो बैंकको ब्याजदर, कसको कति ?
काठमाडौं । मंसिर महिना सुरुसँगै वाणिज्य बैंकहरूको ब्याजदर फेरि घटेर आएको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ दरका आधारमा निजी (व्यक्तिगत) मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर कात्तिकको तुलनामा उल्लेख्य रूपमा ओरालो लागेको देखिन्छ । कात्तिकमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ५.२००५प्रतिशत थियो । मंसिर महिनाका लागि बैंकहरूले यसलाई झारेर ५.०४०५ प्रतिशत मा ल्याएका छन् ।
यसरी हेर्दा औसत दर ०.१६० प्रतिशत विन्दुले घटेको छ । अधिकतम ब्याजदरका हिसाबले भने ‘टप’ स्थान फरक छैन । ग्लोबल आईएमई बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिका व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याजदर कायम राख्दै सबैभन्दा उच्च दर उपलब्ध गराइरहेको छ । मंसिर महिनाका लागि सबै वाणिज्य बैंकले एउटै दिशा नलिएको देखिन्छ ।
ब्याज दर घटाउने १० बैंकहरु एनआईसी एशिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स रहेका छन् । यस्तै ब्याज दर स्थिर राख्ने १० बैंकहरुमा कृषि विकास, एभरेस्ट, नेपाल बैंक, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी रहेका छन् । उता, छोटो अवधिका मुद्दतीमा ब्याज घटिरहेको अवस्था भए पनि ५ वर्षभन्दा लामो अवधिका निक्षेपमा धेरै बैंकहरू अझै उच्च ब्याज दिने रणनीतिमा छन् । व्यक्तिगत मुद्दती ब्याज घटेसँगै बचत तथा संस्थागत मुद्दती दर पनि क्रमशः न्यून हुँदै जान्छ । निक्षेप दर ओरालिँदा बैकिङ प्रणालीको आधार दर घट्ने भएकाले आगामी दिनमा कर्जाको ब्याज पनि झन् सस्तो हुने संकेत छ ।
बैंकहरूले लगानीयोग्य रकम प्रशस्त भए पनि कर्जा विस्तार नबढेपछि ब्याजदर घटाउन बाध्य भएका छन् । राष्ट्र बैंकले पनि पछिल्लो समय स्थायी निक्षेप सुविधा, निक्षेप संकलन तथा अन्य उपकरणमार्फत लामो अवधिका लागि तरलता सोस्ने नीति अपनाइरहेको छ, जसले दरमा थप प्रभाव पारेको छ । हाल राष्ट्र बैंकको नीतिगत दरहरू ४.५ प्रतिशत, स्थायी तरलता सुविधा ६ प्रतिशत र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत छ ।
सबै बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर सूची

