`

दुर्गा प्रसाईं संरक्षक रहेको ‘नागरिक बचाउ’ पार्टीको तारा अंकित झण्डा, चुनाव चिह्न जोडी पाइला

Nepal One HD ३० कार्तिक २०८२ १५:४२
निर्वाचन विषेश

काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई संरक्षक रहने गरी ‘नागरिक बचाउ दल नेपाल’ दर्ता भएको छ । आइतबार निर्वाचन आयोगमा सभापति माधव खतिवडा (कल्पित) को नेतृत्वमा दल दर्ता भएको हो । कल्पितका अनुसार पार्टीमा अहिले २७ जना केन्द्रीय सदस्य छन् । उनले प्रसाईं संरक्षक रहने बताउँदै दुर्गा प्रसाईंको विचार, लक्ष्य र उद्देश्य प्राप्तिका लागि दल दर्ता भएको बताएका छन् ।

पछि प्रसाईंलाई संरक्षकको रूपमा केन्द्रीय कमिटीबाट अनुमोदन गरिने पनि उनले जानकारी दिए । आफू सभापति भए पनि पार्टीको मुख्य व्यक्ति दुर्गा प्रसाईं नै भएको कल्पितले बताएका छन् । कल्पितसहित पार्टीका सदस्यहरुले आइतबार बिहान निर्वाचन आयोगमा गएर सनाखत गरिसकेका छन् । उनीहरुको नागरिक बचाउ दल नेपालको दर्ता नम्बर ६३० छ ।

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन घोषणा गरेका प्रसाईंको अभियान समूहलाई सरकारले वार्तामा बोलाएको छ । २७ बुँदे माग राखेका प्रसाईको नागरिक बचाउ महाअभियानले दल दर्ता गरेर निर्वाचनको लागि तयारी पनि सँगसँगै अगाडी बढाएको कल्पितले बताए ।

पार्टीको उपसभापतिमा ईश्वरीप्रसाद भट्टराई र देवीप्रसाद संग्रौला छन् । पार्टीको महामन्त्री प्रेमकुमार थाम्सुहाङ, सहमहामन्त्री विष्णु बोहरा क्षेत्री, कोषाध्यक्ष सुष्मा रेग्मी रिजाल र प्रवक्ता प्रेम थापा मगर छन् । यो पार्टीले माथि सेतो, तल रातो र बीचमा तारा अंकित चारकुने झण्डा प्रस्ताव गरेको छ । चुनाव चिह्न भने मान्छेको जोडी पाइला प्रस्ताव गरिएको छ ।

सभापति खतिवडाले भने, ‘हामी भुइँ मान्छेका पुजारी हौं, त्यसैले भुइँ मान्छेको समृद्धिका लागि जोडी पाइला चुनाव चिह्न रोजेका छौं ।’ नागरिक बचाउ दलको पदाधिकारी र केन्द्रीय समितिमा दुर्गा प्रसाईको नाम छैन । त्यसबारे सोधिएको जिज्ञासा सभापति खतिवडाले भने, ‘महत्वपूर्ण व्यक्तिले पर्दा पछाडि बसेर नै भूमिका खेलिरहेको हुन्छ । त्यसलाई त्यसैगरी बुझ्नु होला ।’

हेर्नुस् नागरिक बचाउ दलको पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *