प्रसाईं पक्राउपछि ‘नागरिक बचाउ दल’ आन्दोलित : आजै सडकमा उत्रिने घोषणा
काठमाडौँ । राष्ट्रियता र नागरिकका मुद्दा उठाउँदै आएका दुर्गा प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएपछि उनको समर्थनमा रहेर सक्रिय ‘नागरिक बचाउ दल’ आजैदेखि देशव्यापी आन्दोलनमा उत्रिने भएको छ ।
मंसिर ७ गतेदेखि विरोध कार्यक्रम सुरु गर्ने पहिलेको योजना परिमार्जन गर्दै सरकारले प्रसाईलाई ‘अपहरण शैलीमा’ पक्राउ गरेको आरोप लगाउँदै दलले तत्काल संघर्ष थाल्ने घोषणा गरेको हो । महामन्त्री प्रेमकुमार थाम्सुहाङका अनुसार सरकारकै कदमले शान्ति भंग भएकाले अब आन्दोलन नटारिने बताए । आज पहिलो चरणमा जिल्लास्तरीय प्रशासन कार्यालयहरूमा ध्यानाकर्षणपत्र बुझाइने छ । उनीहरूले प्रसाईंको तत्काल तथा सम्मानपूर्वक रिहाइको माग गर्दै सरकारलाई सडकबाट चुनौती दिने चेतावनी दिएका छन् ।

यसैबीच, गृह मन्त्रालयले आइतबार राखेको सुरक्षा समिति बैठकमै प्रसाईंको अभिव्यक्तिले हिंसा र त्रास बढाउन सक्ने भन्दै आवश्यक कारबाहीबारे छलफल गरेको स्रोत बताउँछ । सुरक्षा निकाय प्रमुखहरूले हालैका उनका ‘बम विष्फोट सम्भावना र देश ठप्प पार्ने’ जस्ता वक्तव्यलाई संवेदनशील ठानी कडाइका साथ निगरानी र नियन्त्रण आवश्यक रहेको निष्कर्ष निकालेका थिए ।
प्रसाईंलाई पक्राउ परेसँगै काठमाडौँ उपत्यकामा सम्भावित विरोध गतिविधि रोक्न प्रहरी प्रशासन सतर्क बनेको छ । मातहतका युनिटहरूलाई रातिदेखि नै सर्कुलर जारी गरिएको बताइएको छ । पक्राउपछि उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ र आज सरकारी वकिलसँगको सल्लाहपछि म्याद थप प्रक्रिया अघि बढाइने तयारी छ ।
प्रसाईंले ७ मंसिरदेखि सुरु हुने भनिएको आन्दोलनका लागि २६ बुँदे मागसहित गृह मन्त्रालयमा ज्ञापन बुझाइका थिए । आन्दोलन शान्तिपूर्ण हुने दाबी गरे पनि निरन्तर ‘भड्काउ शैली’ को अभिव्यक्ति आएको भन्दै प्रहरीले मध्यराति उनलाई नियन्त्रणमा लिएको हो ।
