`

दुर्गा प्रसाईं पक्राउ : सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी, उपत्यकामा कडा सुरक्षा

Nepal One HD २ मंसिर २०८२ १२:३६
प्रमुख खबर

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाईं सोमबार मध्यराति भक्तपुरस्थित आफ्नो निवासबाट पक्राउ परेपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरी म्याद लिने तयारी प्रहरीले अघि बढाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईंले हालै दिएका अभिव्यक्तिहरूले सार्वजनिक शान्ति भंग हुने संकेत देखिएकाले त्यसै आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको हो । ‘अभिव्यक्ति स्वतन्त्रताको नाममा दिनु भएका अभिव्यक्तिले सार्वजनिक शान्तिमा खलल पुर्‍याउने अवस्था देखियो’, उनले भने ।

प्रसाईंलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले मध्यराति समन्वय गरेर पक्राउ गरेको हो । उनलाई हाल परिसरकै भद्रकालीस्थित हिरासतमा राखिएको छ । प्रसाईं पक्राउ परेसँगै उनका समर्थक तथा ‘नागरिक बचाउ दल’ सक्रिय हुन सक्ने आंकलन प्रहरीले गरेको छ । दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले पक्राउ लगत्तै आजै उपत्यकामा प्रदर्शन गर्न सक्ने चेतावनी दिएपछि सुरक्षा व्यवस्थालाई एकदमै कडा पारिएको हो ।

रानिपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं, ललितपुर र भक्तपुर—तीनवटै जिल्ला प्रहरी परिसरलाई सडकदेखि संवेदनशील स्थानसम्म विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ । त्यसअनुसार उपत्यकाका मुख्य चोक, सडक र प्रवेशद्वारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ ।

प्रसाईंले यही मंसिर ७ गते देशव्यापी आन्दोलनको घोषणा गर्दै तयारी तीव्र पारेका थिए । तर आन्दोलन सुरू हुनु भन्दा अघि नै पक्राउ परेपछि अब आन्दोलन गर्ने भनी तय गरिएको योजनाको अवस्था अनिश्चित बनेको छ । प्रहरीले आजै अदालतमा पेश गरेर आवश्यक म्याद लिएर अनुसन्धान अघि बढाउने जनाएको छ । यस घटनाले उपत्यकाको सुरक्षा वातावरण तरङ्गित बनाएको छ भने प्रसाईंको टोलीले गर्ने भनिएको प्रदर्शनले अझै राजनीतिक वातावरण तनावपूर्ण बन्दै गएको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *