दुर्गा प्रसाईंलाई बिना शर्त रिहा गर्न माग
काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंलाई तत्काल बिना शर्त रिहा गर्न माग गरेको छ । समितिले विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनको बलमा निर्माण भएको अन्तरिम सरकारबाट कानूनी राज्यको सम्मान हुन्छ, सुशासन बहाली हुन्छ र कम्तिमा पुराना सरकारका गल्ती कमजोरी दोहोरिन्न भन्ने आम अपेक्षा पूरा नभएको जनाएको छ ।
समितिले भनेको छ, ‘जनअपेक्षाविपरीत रातको १२ः३० बजे के के नै बितिहाल्छ भने जस्तो गरेर सरकारले अभियन्ता दुर्गा प्रसाईंलाई उहाँको निवासबाट मंसिर २ गते पक्राउ गरेको छ, जो दुःखद मात्र नभएर निन्दनीय छ ।’ समितिले मानवअधिकारका विश्वव्यापी मान्यता अक्षरशः पालना गर्न, अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण सभा सम्मेलन गर्ने प्रजातान्त्रिक अधिकार सम्मान गर्न र अभियन्ता दुर्गा प्रसाईंलाई बिनाशर्त अविलम्ब रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
यस्तै, नागरिक स्वतन्त्रता र प्रजातान्त्रिक हक अधिकार विपरीत गरिएका असंवेदनशील कार्यबाट समाजमा असहजता सिर्जना हुनसक्ने र यसको जिम्मेवारी सरकारमै निहीत रहने समेत ध्यानाकर्षण गराएको छ । समितिका संयोजक नवराज सुवेदीले बुधबार विज्ञप्ति जारी गरेर प्रसाईंको विनाशर्त रिहाइ माग गरेका हुन् ।

