मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्तिको सम्भावना
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक बोलाएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्न लागेको बालुवाटार स्रोतले जनाएको छ । मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर मंगलबार रातिबाट अनिवार्य अवकाशमा जाने भएकाले आजको मन्त्रिपरिषद् बैठकले नयाँ मुख्य सचिव नियुक्ति गर्ने सम्भावना रहेको स्रोतको भनाई छ । अर्याल २०८१ साल भदौ १३ गते मुख्य सचिवमा नियुक्त भएका थिए ।
अर्यालपश्चात गोकर्णमणी दुवाडीको रोलक्रम रहेपनि उनीपनि अवकाशमा जाँदैछन् । गृह सचिव रहेका दुवाडी नयाँ सरकार आएसँगै योजना आयोगमा सरुवा भएका थिए । उनी जेनजी आन्दोलनमा विवादितसमेत बनेका थिए । मुख्यसचिवको दौडमा सुमन अर्याल, मधुसूदन बुर्लाकोटी, डा. कृष्णहरि पुष्कर र प्रमिला देवी शाक्य बज्राचार्य रहेका छन् । गोकर्णमणी दुवाडीको स स्रोतका अनुसार अर्यालको सम्भावना बढी रहेको छ । अर्याल योजना आयोगबाट अहिले रक्षा सचिव बनेका छन् । बुर्लाकोटी राष्ट्रिय तथ्यांक कार्यालयमा रहेका छन् । पुष्कर अहिले श्रम सचिव छन् भने बज्राचार्य खानेपानी सचिव हुन् ।
