‘टीओबी’ बारे प्रहरीको दुई महिना लामो अनुसन्धान, के–के खुल्यो रहस्य ?
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा विवादमा परेका टीओबी (द ओरिजिनल ब्रदर्स-तिब्बतीयन ओरिजिनल ब्लड) समूहबारे प्रहरीले पछिल्ला निष्कर्ष सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार गरेको पत्रकार सम्मेलनमा समूहका गतिविधि, संरचना र आन्दोलनमा उनीहरूको संलग्नताबारे विस्तृत जानकारी दिएको हो ।
प्रहरीका अनुसार टीओबी समूहका ‘मुख्य व्यक्ति’ भनिएका तेन्जिन दावा लामा अहिले पनि हिरासतमा छन् र उनीबारे नागरिकता, राहदानीदेखि लागूऔषधसम्बन्धी मुद्दासम्मको बहुआयामिक अनुसन्धान अघि बढिरहेको छ । प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार तेन्जिन बाहेक समूहका सबै सदस्य नेपाली नागरिक भएको पुष्टि भएको छ ।
तेन्जिनले टीओबी समूहको लोगो आफैले तयार पारेको अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार समूहको आधिकारिक नाम ‘द ओरिजिनल ब्रदर्स’ हो तर तेन्जिनले आफू तिब्बतियन मूल भएको भन्दै आफ्नो ज्याकेटमा ‘तिब्बतीयन ओरिजिनल ब्लड’ लेखेको बयान दिएका छन् । समूहमा ५७ सदस्य रहेको र उनीहरूले १३ वटा बुलेट र १ वटा पल्सर मोटरसाइकल प्रयोग गरेको पनि प्रहरीले जानकारी गराएको छ ।
भाद्र २३ गते बिजुलीबजार क्षेत्रमा समूहका केही सदस्यले बाइक रफ्तारमा कुदाउँदै नारा लगाउँदै भीडलाई उत्तेजित गर्ने काम गरेको प्रहरीले जनाएको छ । त्यही दिनको अघिल्लो साँझ उनीहरूले जेन–जी आन्दोलनमा सहभागी हुने विषयमा आन्तरिक छलफल गरेको प्रमाण पनि भेटिएको प्रहरीको दाबी छ ।
तेन्जिनमाथि पहिले सार्वजनिक भएको ‘पेस्तोल देखाएको’ भिडियो जेन–जी आन्दोलनकै नभई केही महिना अघि म्युजिक भिडियोका क्रममा खिचिएको भएको तथ्य पनि प्रहरीले खुलाएको छ । अभद्र व्यवहार मुद्दामा उनलाई ७ हजार ५०० रुपैयाँ धरौटी तोकिए पनि उनीमाथि हाल लिखत, नागरिकता र लागूऔषधसम्बन्धी मुद्दामा छुट्टै अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार समूहका सदस्यहरू र्यापर सुरेन्द्र गुरुङ (Haka Hakim) बाट प्रभावित छन् र त्यसैका कारण उनीहरूले टी–सर्टमा ‘हाकिम’ लेख्ने गरेको बयान दिएका छन् । लोगोमा रहेको ड्रागन, फूल र अन्य प्रतीकमा गहिरो अर्थ नरहेको र ‘युद्धका लागि तयार तर शान्तिप्रिय’ भाव झल्काउने सामान्य कलात्मक डिजाइन मात्र भएको प्रहरीले बताएको छ ।
