सिंहदरबार गेटबाटै निकालिएका मिराज समूहले कालोपट्टी बाँधेर थाल्यो प्रदर्शन
काठमाडौं । ‘गरिखान देऊ’ नामक आन्दोलनको नेतृत्व गर्दै आएका मिराज ढुंगाना र उनका सहयात्रीहरूले मंगलबार बिहान सिंहदरबार परिसरमै प्रदर्शन थालेका छन् । प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर मागपत्र बुझाउने योजना बनाउँदै सिंहदरबार पुगेको समूहलाई प्रहरीले प्रवेशद्वारमै रोकिदिएपछि उनीहरूले कालोपट्टी बाँधेर विरोध सुरु गरेका हुन् ।
सिंहदरबार छिर्न खोज्दा केहीबेर आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो । प्रवेशमा कडा रोक लगाएपछि प्रहरी टोलीले मिराज समूहलाई धकेल्दै अनामनगरस्थित पुर्वेली भान्छाघर आसपासको क्षेत्रतर्फ हटाएका छ । त्यही स्थानमा उनीहरूले पुनः कालोपट्टी बाँधेर विरोध जारी राखे, तर त्यहाँबाट अन्यत्र जान नमिल्ने प्रहरी निर्देशनलाई वेवास्ता गर्दै केही आन्दोलनकारी फेरि सिंहदरबारतर्फ फर्कने प्रयास गरिरहेको बताइएको छ ।
ढुंगाना नेतृत्वको समूहले आइतबार आन्तरिक बैठक गर्दै सोमबारदेखि निरन्तर आन्दोलनमा उत्रने निर्णय गरेका थिए । सोमबार पनि उनीहरूले सिंहदरबार छिर्न खोजे पनि सफल हुन सकेनन् र असन्तुष्ट हुँदै मागपत्र गेटमै टाँसेर फर्किएका थिए । मंगलबार भने ‘गिफ्तारी दिन तयार’ भन्दै पुगेको टोलीलाई प्रहरी रोक्न बाध्य भयो । अभियानका अगुवा हरिष भट्टका अनुसार मंगलबारको प्रदर्शन केवल मागपत्र बुझाउने उद्देश्य नभई सिंहदरबार गेटमै धरपकड स्वीकार गर्ने योजनाअनुसार गरिएको थियो । ‘माग पूरा नहुँदासम्म आन्दोलन निरन्तर हुन्छ’, भट्टले भने ।
८ बुँदे संयुक्त माग
मिराज समूहसहित अन्य जेनजी अभियान अगुवाले सिंहदरबार गेटमा टाँसेको संयुक्त मागपत्रमा यी प्रमुख मुद्दाहरू समेटिएका छन् :-
–तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित भदौ २३–२४ को घटनामा संलग्न सबै जिम्मेवार व्यक्ति पक्राउ गर्न ।
–संविधान संशोधनका लागि सर्वपक्षीय सरकार गठन गर्न ।
–घोषणा गरिएका निर्वाचन कार्यतालिका स्थगित गर्न ।
–सबै राजनीतिक दलका नेता, पूर्वसांसद तथा पूर्वमन्त्रीहरूको सम्पत्ति रोक्का गर्न ।
–शक्तिशाली भ्रष्टाचार निर्मूल आयोग तत्काल गठन गर्न ।
–सरकारी सेवामा दलीय कर्मचारी संगठन स्थायी रूपमा प्रतिबन्ध गर्न ।
–जेनजी निगरानी आयोग गठन गर्न ।
–शहीद तथा घाइते परिवारका सदस्यलाई तत्काल रोजगारी उपलब्ध गराउन ।
प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफन्तलाई सचिवालयमा नियुक्त गरेको आरोप सार्वजनिक भएपछि समूह थप आक्रोशित बनेको बताइएको छ । यही आक्रोश, विगतका राजनीतिक घटनाका दुःखद सम्झना र वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि मिसिँदै समूहको आन्दोलन दिनानु दिन उग्र बन्दै गएको छ। यसबीच, सिंहदरबार परिसरमा प्रहरीको बाक्लो उपस्थिति कायम छ । आन्दोलनकारीलाई रोकेर अनामनगरतर्फ पथप्रदर्शन गरिए पनि उनीहरूमध्ये केही फेरि मुख्य गेटतिरै फर्किन खोजिरहेका कारण स्थिति कुनै बेला पनि तनावग्रस्त बन्न सक्ने आकलन गरिएको छ।



