`

पनामा नहरमा नयाँ बन्दरगाह निर्माणका लागि चीन पनि सम्भावित बोलीदातामा

Nepal One HD १० मंसिर २०८२ १७:३४
विश्व

पनामा सिटी । पनामा नहरका प्रशासक रिकोर्ट भास्केजले चिनियाँ कम्पनीहरू नहर क्षेत्रका दुई नयाँ बन्दरगाह निर्माणका लागि सम्भावित बोलीदातामा परेका पक्षहरू मध्ये एक रहेको जानकारी दिएका छन् । यो घटना चीनले यस रणनीतिक व्यापार मार्गमा बढ्दो प्रभाव जमाउने प्रयास गरिरहेको भन्दै अमेरिकाले हालसालै व्यक्त गरेको चिन्ताबीच आएको हो ।

यस वर्षको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङ्कङमा आधारित सीके हचिसन होल्डिंग्सले एटलान्टिकतर्फ क्रिस्टोबल र प्रशान्ततर्फ बाल्बोआ नामक दुवै प्रमुख बन्दरगाह सञ्चालन गरेको आधारमा चीनले पनामा नहरको नियन्त्रण लिएको आरोप लगाउँदै चेतावनी दिएका थिए ।

मार्चमा कम्पनीले दुवै बन्दरगाहको व्यवस्थापन अमेरिकामा आधारित ब्ल्याकरोकरले नेतृत्व गरेको समूहलाई हस्तान्तरण गर्ने सहमति गरेको थियो । तर चीनले शङ्काका साथ नियालिरहेको यो प्रस्तावित सम्झौता अझै अन्तिम रूपमा टुङ्गिएको छैन ।

पनामाले आगामी दशकमा आफ्नो बन्दरगाह क्षमता विस्तार गर्दै ग्यास पाइपलाइन र नयाँ जलाशय निर्माण गर्न करिब आठ अर्ब ५० करोड डलर बराबरको लगानी आकर्षित गर्ने लक्ष्य राखेको छ । नयाँ बन्दरगाहहरूको निर्माणसँगै ग्यास पाइपलाइन र जलाशय विकास पनि परियोजनाको महत्त्वपूर्ण अङ्गका रूपमा समावेश गरिएको छ ।

प्रशासक भास्केजले पत्रकारहरूसँग छलफल गर्दै नहर क्षेत्रका आयोजना सबै इच्छुक तथा योग्य पक्षका लागि खुला रहने बताएका छन् । “हामी सबै सम्भावित सहभागीतालाई सुनिश्चित गर्न इच्छुक छौँ र व्यापक प्रतिस्पर्धा अपेक्षा गर्छौं”, उनले भने ।

उनका अनुसार सबै पक्षले समान र निष्पक्ष आधारमा बोली प्रक्रिया अघि बढाउनेछन् । चीनलाई ठेक्का प्रदान भएमा अमेरिका–चीन तनावमा सम्ंभावित प्रतिकूल प्रभावबारे सोधिएको प्रश्नमा उनले कुनै अड्कलबाजी गर्न अस्वीकार गरेका छन् ।

पनामा नहर प्राधिकरणले बोली प्रक्रिया अघि इच्छुक कम्पनीहरूसँग प्रारम्भिक बैठकहरू सुरु गरिसकेको छ । प्राधिकरणले सन् २०२६ को अन्त्यतिर दुई नयाँ टर्मिनलका लागि सम्झौता प्रदान गर्ने र सन् २०२९ सम्ममा सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

हालसम्म सिङ्गापुरको पीएसए इन्टरनेसनल, ताइवानको एभरग्रीन, जर्मनीको हपाग–लोयड, डेनमार्कको मार्सक, फ्रान्सको सीएमए टर्मिनल्सका साथै हङ्कङस्थित कोस्को शिपिङ पोट्र्स र ओरिएन्ट ओभरसिज कन्टेनर लाइन ९ओओसिएल० ले परियोजनामा गहिरो चासो व्यक्त गरिरहेका छन् ।

पनामाका पाँचवटा प्रमुख बन्दरगाह नहर क्षेत्र नजिकै अवस्थित छन् र संयुक्त राज्य अमेरिका, हङ्कङ, ताइवान तथा सिङ्गापुरका सहुलियत प्राप्त कम्पनीहरूले सञ्चालन गर्दै आएका छन् ।

करिब ८० किलोमिटर लामो पनामा नहर विश्वव्यापी समुद्री व्यापारको करिब पाँच प्रतिशत यातायात बोकेको अत्यन्त महत्त्वपूर्ण मार्ग हो । नहरको निर्माण र सञ्चालन संयुक्त राज्य अमेरिकाले लगभग एक शताब्दीसम्म गरेको थियो र सन् १९९९ को अन्तिम दिन पनामा सरकारले यसको पूर्ण नियन्त्रण ग्रहण गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *