`

राजीनामा दिने तयारीमा मधेशका मुख्यमन्त्री यादव

Nepal One HD १७ मंसिर २०८२ १२:३८
बिशेष

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने पक्का भएपछि राजीनामा दिने तयारी गरेका छन् । प्रदेश सभा बैठकमा आफ्ना धारणा राखेर राजीनामा दिने उनको तयारी छ । विश्वासको मत लिनका लागि आज बिहान साढे ८ बजे नै प्रदेश सभा बैठक बोलाइए पनि बैठक बस्नै सकेन । प्रदेश सभा बैठकमा मुख्यमन्त्री नै नगएपछि दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ । प्रदेश सभाको अंकगणित हेर्दा उनले विश्वासका मत नपाउने निश्चित जस्तै छ ।

१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकारको विश्वास कायम राख्न कम्तिमा ५४ मत आवश्यक पर्छ । तर ठूलो दल एमालेसँग सभामुखसहित २५ सांसद मात्र छन्, जसमा एकजना निलम्बित छन् । एमालेको साथमा एक–एक सिटको नेपाल संघीय समाजवादी र राप्रपा छन् ।
पार्टीको नीतिविपरीत प्रदेश सरकारमा सहभागी भएर वन तथा वातावरणमन्त्री बनेकी राप्रपाकी कञ्चन बिच्छाको सांसद पद नै धरापमा छ । उनको सांसद पद खारेज गर्न राप्रपाले आइतबार नै प्रदेश सभा सचिवालयलाई पत्राचार गरिसकेको छ ।
सात दलीय गठबन्धनमा भने ७३ सांसद छन् । अहिलेसम्म गठबन्धनका दल एक ठाउँमा छन् । गठबन्धनमा कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद छन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम सात दलको गठबन्धनबाट गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत नपाउने स्थिति बनेपछि कात्तिक २२ गते प्रदेश सभाबाट राजीनामा घोषणा गरेका थिए । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई कात्तिक २४ गते मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

अस्वस्थ भएर उपचारका लागि काठमाडौं जान्छु भनेर मधेश भवनबाट निस्किएकी भण्डारीले यादवलाई बर्दिवासको एक होटलमा बिहानै कात्तिक २४ गते झिसमिसे बिहानीमा शपथ खुवाएपछि विवाद बढेको थियो । त्यसबाट असन्तुष्ट दलहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा मंसिर १५ गते परमादेश जारी गरेको थियो । सोही अनुसार विश्वासको मत लिन भनेर आज प्रदेश सभा बैठक बोलाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *