प्रहरीलाई कुटपिट गरी लुटपाट गर्ने दुई पक्राउ
काठमाडौँ, १७ मङ्सिर : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीलाई कुटपिट गरी लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । कार्यालयले गत भदौ २४ गतेको जेनजी प्रदर्शनीका क्रममा काठमाडौँ महानगरपालिका–२४ विशालबजारमा जनसेवाबाट खटिएका प्रहरीलाई घेराबन्दी तथा कुटपिट गरी धनमाल लुटपाटमा संलग्न दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउपर्नेमा काठमाडौँ महानगरपालिका–२० चिकामुगल बस्ने ४१ वर्षीय नीरज चित्रकार र काठमाडौँ महानगरपालिका–१० दमाईंटोल बस्ने ४० वर्षीय राजकुमार क्षेत्री रहेका छन् ।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले ‘ड्युटी’मा खटिएका प्रहरीलाई घेराबन्दी गरी प्रहरीका साथमा रहेको धनमाल लुटेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ परेका नीरज चित्रकार विरुद्धमा यसभन्दा अगाडि पनि ज्यान मार्ने मुद्दामा प्रहरीवृत्त जनसेवा न्युरोडमा मुद्दा चलेको अनुसन्धानमा खुलेको छ । पक्राउ उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता आचार्यले बताउनुभयो ।
