मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेस
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन् । आज (शुक्रबार) सात दलीय गठबन्धनको तर्फबाट यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् । नयाँ सरकार गठनको गृहकार्यमा लागेका सातदलसँग मधेस प्रदेश सभामा दुई तिहाई भन्दा धेरै मत छ । प्रदेश प्रमुख कर्णले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवले ७७ जना सांसदको समर्थनमा दाबी पेस गरेका हुन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा बहुमत प्रदेश सभा सदस्यको हस्ताक्षरसहित उनले दाबी पेस गरेका हुन् । १०७ सदस्यीय मधेश प्रदेशसभामा ३ जना सांसद निलम्बनमा छन् । त्यसैले सरकार बनाउन तत्काल कायम रहेका १०४ सदस्यको बहुमत ५३ जनाको समर्थन चाहिन्छ ।
ठूलो दलको हैसियतमा गएको कात्तिक २४ गते मधेसको मुख्यमन्त्री नियुक्त भएका सरोज यादवले प्रदेशसभामा बहुमत सिद्ध गर्न नसकेपछि गएको बुधबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि एमालेबाहेकका सात दल मधेसमा नयाँ सरकार गठनको लागि अघि सरेका हुन् ।
नेपाली कांग्रेस मधेस प्रदेश सभामा एमालेपछि दोस्रो ठूलो दल हो। प्रदेस सभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीका १–१ सांसद छन्।
