क्यानडामा शक्तिशाली भूकम्प
काठमाडौं । उत्तरपश्चिम क्यानडाको युकोन टेरिटोरीमा शनिबार दिउँसो शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार १ः४१ बजे गएको भूकम्पको तीव्रता ७ म्याग्निच्युड मापन गरिएको छ, जसलाई पछिल्ला सात दशकभन्दा बढी अवधिमा क्यानडाको भूमिमा महसुस भएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार कम्पनको केन्द्रबिन्दु ह्वाइटहर्स शहरबाट करिब २५० किलोमिटर पश्चिमतिर रहेको थियो । भूकम्प करिब १० किलोमिटर गहिराइमा उत्पन्न भएको बताइएको छ । भूकम्पपछि तीन घण्टाभित्र कम्तीमा ३३ वटा पराकम्पनहरु महसुस गरिएका छन्, जसमा सबैभन्दा ठूलो ५.१ म्याग्निच्युडको थियो ।
हालसम्म कुनै जनधनको क्षतिको आधिकारिक रिपोर्ट प्राप्त नभए पनि ह्वाइटहर्सका धेरै स्थानीयले सामाजिक सञ्जालमार्फत घर–भित्तासमेत हल्लिने गरी कम्पन आएको अनुभूति साझा गरेका छन् ।
यो भूकम्प सन् १९४६ मा भ्यान्कुभर आइल्याण्डमा आएको ७ म्याग्निच्युडभन्दा ठूलो कम्पनपछि क्यानडामा भूमि सतहमा मापन भएको सबैभन्दा ठूलो भूकम्पका रूपमा दर्ता भएको छ । क्यानडाको इतिहासमा भने सबैभन्दा शक्तिशाली भूकम्प सन् १७०० को जनवरीमा ९ म्याग्निच्युडसहित ब्रिटिस कोलम्बियाको समुद्रतट क्षेत्र बाहिर गएको थियो ।
विशेषज्ञहरूको मूल्यांकनअनुसार शनिबारको भूकम्प उच्च जोखिमयुक्त भूकम्पीय क्षेत्रमा गएको हो, जसको पूर्वानुमान २०१५ मा अर्थक्वेक्स क्यानडाले गरेको विश्लेषणले समेत उल्लेख गरेको थियो ।
