देउवालाई भेट्न आएका मुख्यमन्त्री नफर्किँदा मधेसको सत्ता गठबन्धनको बैठक स्थगित
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव काठमाडौँबाट नफर्किएपछि आज जनकपुरमा हुने भनेको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ ।
मुख्यमन्त्रीसहितका कांग्रेस नेता काठमाडौँबाट नफर्किएको हुदाँ आजको बैठक अर्को दिनको लागि सरेको अर्थमन्त्रीसमेत रहेका जनमत पार्टीका नेता महेश यादवले जानकारी दिएका छन् । कांग्रेसका नेतासमेत रहेका मुख्यमन्त्री यादव सभापति शेरबहादुर देउवासहितका शीर्ष नेतालाई भेट्न मंगलबार काठमाडौँ आएका थिए ।
मुख्यमन्त्री यादवसँगै मधेस प्रदेशका अर्का मन्त्री तथा कांग्रेस नेता जंगीलाल राय पनि अहिले काठमाडौँमै छन् ।
उनीहरुले मंगलबार कांग्रेसका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका गरिसकेका छन् ।
सभापति देउवासँगै हिजो उनीहरुले कृष्ण सिटौला, शेखर कोइराला, रमेश लेखकसहितका शिर्ष नेताहरु सँग भेटवार्ता गरेका हुन् ।
‘मुख्यमन्त्रीले काठमाडौँको काम अझै नसकिएको हुदाँ आजको बैठक नहुने जानकारी गराउनु भएको हो’ अर्थमन्त्री यादवले भनेका छन्, ‘उहाँहरु उताबाट फर्किए लगतै अब एकदुई दिनपछि नै हुन्छ होला सर्वदलीय बैठक।’
उनले मुख्यमन्त्री यादव फर्किपछि भोलि अथवा पर्सी बैठक बसेर आवश्यक निर्णय हुने बताएका छन् ।
उनले अबको सर्वदलीय बैठकबाट मन्त्रीपरिषद् विस्तार र मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिने विषयमा आवश्यक निर्णय हुने जानकारी दिएका छन् ।
कांग्रेसका मधेस प्रदेश संसदिय दलका नेता यादव यही मंसिर १९ गते एमालेबाहेकको सात दलीय गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले आइतबार नै तीन सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन् ।
उनले मन्त्रिपरिषद् विस्तार अघि काठमाडौँ आएर कांग्रेसका शीर्ष नेताहरुलाई भेटेका हुन् ।
आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दा यादवले यही मंसिर २४ गते विश्वासको मत लिने प्रचार गरिएको थियो । यादवले भने आफूले २४ गते नै विश्वासको मत लिने भनेर नभनेको दाबी समेत गरेका छन् ।
सात दलबीच मन्त्रालय बाँडफाँडमा सहमती नहुँदा मधेसमा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । जसपा र माओवादी केन्द्र दुवैले भौतिक पूर्वाधार मन्त्रालय दाबी गर्दा सहमति जुट्न नसकेको बताइएको छ ।
कांग्रेसका जंगीलाल राय, जनमत पार्टी संसदीय दलका नेता महेश यादव र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेल आइतबार मन्त्री नियुक्त भएका थिए ।
मधेसमा जंगीलाल र पटेलले विनाविभागीय मन्त्रीको शपथ खाँदा जनमतका महेश यादवले प्रदेशमा महत्वपूर्ण मानिएको अर्थमन्त्रीमा नियुक्ति पाएका छन् ।
सत्तारुढ दलहरूबीच मधेस प्रदेश सभाका सभामुखमा पनि सहमती हुन बाँकी छ । एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डल महाअभियोगबाट बर्खास्त भएपछि मधेसमा अहिले मुख्यमन्त्री पद खाली रहेको छ ।
मधेसमा सभामुखपदमा जसपा र माओवादी केन्द्रले दाबी गर्दै आईरहेका छन् ।
