`

एमालेले केन्द्रीय कमिटी बैठक बस्दै, विधान संशोधनबारे छलफल हुने

Nepal One HD २८ मंसिर २०८२ १०:२२
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ। बिहानै देखि बन्द सत्र सुरु गर्ने भनिए पनि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाए पछि बन्द सत्र पछि सरेको छ ।

हिजो भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा वर्तमान अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् ।

ओली पक्षमा पदाधिकारीका आकांक्षी धेरै भएपछि विधान संशोधनका लागि अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् ।

एमालेले गत भदौमा ललितपुरको गोदावरीमा विधान अधिवेशन गरी पदाधिकारी र केन्द्रीय समिति सदस्यको संख्या घटाएको थियो । यसअघि १९ पदाधिकारी र ३०१ जना केन्द्रीय कमिटी रहेकोमा विधान अधिवेशनमार्फत १५ पदाधिकारी र २५१ जनाको केन्द्रीय कमिटी हुने निर्णय भएको थियो । पदाधिकारीका आकांक्षी धेरै भएपछि ओली पुरानै प्रावधानमा फर्किने प्रयासमा लागेका हुन् । तर, ईश्वर पोखरेल समूहले यसको विरोध गर्दै आएको छ ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवलाय बैठकमा विधान संशोधनको प्रस्ताव अस्वीकृत भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *