`

कार्यतालिकामा पछि पर्‍यो कांग्रेस, पुसमै होला नियमित महाधिवेशन ?

Nepal One HD ८ पुष २०८२ १२:२०
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको तयारी सुरुदेखि नै तय कार्यतालिकामा अगाडि बढ्ने भनिए पनि व्यवहारमा त्यो सम्भव नहुने अवस्था देखिएको छ । पार्टीले पुस अन्त्यमा महाधिवेशन गर्ने दाबी गरे पनि क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम अपेक्षित गतिमा अघि नबढेपछि पुसमै नयाँ नेतृत्व चयन हुने सम्भावना कम हुँदै गएको कांग्रेसकै नेताहरू स्वीकार गर्न थालेका छन् ।

१५ मंसिरमा बसेको केन्द्रीय समिति बैठकले वडा, पालिका, क्षेत्र, जिल्ला हुँदै पुस अन्त्यमा महाधिवेशन सम्पन्न गर्ने ‘रकेट स्टाइल’ कार्यतालिका सार्वजनिक गरेको थियो । तर, सो कार्यतालिका पारित भएको तीन साताभन्दा बढी समय बितिसक्दा पनि प्रारम्भिक चरणकै काम पूरा हुन सकेको छैन । नयाँ क्रियाशील सदस्यता फाराममा क्रम संख्या नहुनु, ढिलो वितरण हुनु र कतिपय जिल्लामा फाराम नै नपुग्नु जस्ता समस्याले कार्यतालिका सुरुमै प्रभावित बनेको छ । केन्द्रीय कार्यालय स्रोतका अनुसार अझै पनि सबै जिल्लाबाट नयाँ र नवीकरण गरिएको क्रियाशील सदस्यताको विवरण केन्द्रमा आइपुगेको छैन । कतिपय जिल्लाले एक्सेलमार्फत विवरण पठाएका छन् भने कतिले सफ्टवेयर प्रयोग गरेका कारण यकिन तथ्यांक निकाल्नै समय लागिरहेको छ । अनुमानमा करिब ५० जिल्लाबाट मात्र नवीकरणको विवरण आएको बताइन्छ ।

यसबीच, महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले नवीकरण पुस ९ गते मध्याह्न १२ बजे र नयाँ क्रियाशील सदस्यता वितरण पुस १० गते ‘सिस्टम लक’ गर्ने निर्णय गरेको छ । समितिले त्यसपछि बैठक बसेर प्रमाणित विवरण पार्टीलाई बुझाउने जनाएको छ । तर, यति छोटो समयमै देशभरका १६५ निर्वाचन क्षेत्र, जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका सबै विवाद, उजुरी र छुटेका नाम टुंग्याउन कठिन हुने नेताहरूको ठम्याइ छ ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले कार्यतालिका सुरुदेखि नै अव्यावहारिक रहेको र अब परिवर्तन अपरिहार्य भएको बताएका छन् । उनका अनुसार क्रियाशील सदस्यता छानबिन मात्र दुई दिनमा सकिन नसक्ने भएकाले महाधिवेशन पुस अन्त्यमा हुन सम्भव छैन । समिति सदस्य योगेन्द्र चौधरी पनि कार्यतालिकाबाट पार्टी केही बाहिर गइसकेको स्वीकार गर्दै नयाँ कार्यतालिकाबारे छलफल चलिरहेको बताउँछन् ।

विदेशस्थित जनसम्पर्क समितिहरूमा समेत समस्या देखिएको छ । विशेषगरी क्यानडा, युके, अस्ट्रेलिया र जापानमा क्रियाशील सदस्य बन्न चाहनेको संख्या बढी हुँदा व्यवस्थापन चुनौतीपूर्ण बनेको समितिको भनाइ छ । विवादित करिब ८ देखि १० निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यता फाराम अझै नपुगेको अवस्था छ । यस्तो परिस्थितिमा वडा अधिवेशनदेखि माथिल्ला तहका अधिवेशनहरू पनि प्रभावित हुने निश्चित देखिन्छ । यद्यपि पार्टीले औपचारिक रूपमा कार्यतालिका संशोधनको निर्णय गरिसकेको छैन । पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा नियमित महाधिवेशन गर्ने कार्यतालिका अझै कायम छ, तर नेताहरू स्वयं त्यसप्रति आशावादी देखिँदैनन् ।

यदि तोकिएको मितिमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको दबाब बढ्ने छ । यसअघि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाइसकेका छन्, जसअनुसार पुस २९ भित्र विशेष महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यता रहने छ । तर, सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का भने विशेष महाधिवेशनका पक्षमा छैनन् । महाधिवेशनको मेरुदण्ड मानिने क्रियाशील सदस्यता प्रक्रिया नै अल्झिँदा कांग्रेसको आन्तरिक लोकतान्त्रिक अभ्यास फेरि अन्योलमा परेको छ । अब पार्टीले नयाँ कार्यतालिका ल्याएर प्रक्रिया अघि बढाउने वा संवैधानिक दबाबअनुसार विशेष महाधिवेशनतर्फ जाने भन्ने निर्णय छिट्टै गर्नुपर्ने अवस्था देखिएको छ ।

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *