सागर ढकालको दाबी: नेपालको जेन्जी आन्दोलन विश्वभरी फैलियो
काठमाडौँ । अभियन्ता सागर ढकालले वर्तमान सरकार जेन-जी आन्दोलनको म्यान्डेट अनुसार चल्न नसकेको बताएका छन् । नेसनल प्रेस क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा बोल्दै ढकालले विश्वले अनुसरण गरेको आन्दोलनलाई आन्दोलनले नै बनाएको सरकारले बुझ्न नसकेको बताएका हुन् । जेनजी फोर्स नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो ऐतिहासिक आन्दोलनले दिएको म्याण्डेटलाई कार्यान्वयन गर्न नसक्नु सरकारको कमजोरी भएको बताएका हुन् । ढकालले जेनजी आन्दोलनले मुख्य सन्देश पुराना दललाई दिए पनि उनीहरूले यो सन्देश ग्रहण गर्न नसकेको टिपणी गरे ।
उनले २० वर्ष अघि केपी ओली, शेर बहादुर देउवा र प्रचण्ड आजको रवि, बालेन र कुलमान जस्तै भएको भन्दै अनुहार मात्रै फेरिएर केही नहुने दाबी गरे । ‘कुनै बेला केपी ओली, देउवा, प्रचण्डका अनुहार अहिलेका बालेन, कुलमान र रविको जस्तै थियो,’ उनले भने, ‘जेन-जी आन्दोलनले अनुहार परिवर्तन नभई विधि र प्रणालीमा परिवर्तन चाहेको हो।’
ढकालले नेपालमा भएको जेन-जी आन्दोलनको प्रभाव विश्वका अन्य देशमा पनि परेको बताए । उनले नेपालमा भएको जेन-जी आन्दोलनपछि संसारका अन्य देशमा पनि नेपालको झण्डा फ़हराईएको र नेपालको लागि त्यो गौरवको विषय भएको टिप्पण गरे ।
