`

रवि–बालेन संवादले थप्यो जेनजी राजनीतिमा उर्जा

Nepal One HD ९ पुष २०८२ ८:२२
प्रमुख खबर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भएको लामो भेटवार्ताले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ । विशेष गरी भदौको आन्दोलनपछि सक्रिय विभिन्न जेनजी समूहहरू यो संवादलाई वैकल्पिक शक्तिको सम्भावित एकताको संकेतका रूपमा लिँदै उत्साही देखिएका छन् ।

सोमबार साँझ करिब सात घण्टा चलेको भेटमा रवि र बालेनबीच लामो ‘वान–अन–वान’ छलफल भएको र उनीहरू एउटै गाडीमा बाहिरिएको घटनाले राजनीतिक वृत्तमा थप चासो बढाएको छ । भेटपछि प्रधानमन्त्रीको सम्भावित दाबेदारीदेखि आगामी चुनावमा सहकार्यसम्मका चर्चा बाहिरिएसँगै जेनजी अगुवाहरू खुलेर प्रतिक्रिया दिन थालेका छन् ।

द काउन्सिल अफ जेनजीका अगुवा सुदन गुरुङले आफू लामो समयदेखि रवि, बालेन र ऊर्जामन्त्री कुलमान घिसिङलाई एउटै ठाउँमा ल्याउने प्रयासमा रहेको बताउँदै अहिलेको संवादलाई ‘सकारात्मक मोड’ भनेका छन् । उनका अनुसार तीनै शक्ति एक भए जेनजी समूहहरू पनि सोही राजनीतिक धारमा जोडिने सम्भावना बलियो छ । उनले पुराना दलहरूलाई टक्कर दिन यस्ता वैकल्पिक पात्रहरूको एकता अपरिहार्य भएको दाबी गरे ।

यस्तै, जेनजी फ्रन्ट र अन्य समूहका केही अगुवाहरूले पनि रवि–बालेन संवादलाई आशाको संकेत मानेका छन् । उनीहरू भन्छन्, ‘देशमा बलियो वैकल्पिक शक्ति आवश्यक छ र नयाँ अनुहारहरूबीच संवाद सुरु हुनु आफैंमा सकारात्मक कुरा हो । कुलमान घिसिङ पनि यो प्रक्रियामा जोडिए चुनावी राजनीतिमा ठूलो प्रभाव पर्न सक्ने उनीहरूको अनुमान छ ।’

तर सबै जेनजी समूह समान रूपमा उत्साहित भने छैनन् । केही अभियन्ताहरूले रवि र बालेनको नजिकिँदो सम्बन्धलाई सावधानीपूर्वक हेर्नुपर्ने धारणा राखेका छन् । उनीहरूका अनुसार व्यक्तिको लोकप्रियताभन्दा पनि विचार, कार्यशैली, लोकतान्त्रिक आचरण र जेनजी आन्दोलनका मागप्रति स्पष्ट प्रतिबद्धता मुख्य कुरा हो । ‘खाली मिल्नु मात्र पर्याप्त छैन, के एजेण्डा डेलिभर गर्छन् भन्ने स्पष्ट हुनुपर्छ’, भन्ने आवाज पनि उठिरहेको छ ।

कतिपयले यो सहकार्य प्रतिशोधमुखी राजनीति त होइन भन्ने प्रश्न उठाएका छन् भने केहीले बालेनको कार्यशैली र रास्वपाको विचारधाराबारे आलोचनात्मक दृष्टिकोण राखेका छन् । जेनजी अभियन्ताहरूले स्पष्ट रूपमा भनेका छन्–पुराना दलको पुनरावृत्तिभन्दा वैकल्पिक गठबन्धन राम्रो देखिए पनि अन्तिम समर्थन एजेण्डा, प्रतिबद्धता र व्यवहार हेरेर मात्रै तय हुनेछ ।

रवि लामिछानेले पनि बालेनसँगको भेटलाई संवादको प्रारम्भ मात्र भएको बताउँदै कुलमान घिसिङ र जेनजी अगुवाहरूसँग पनि छलफल जारी रहेको सार्वजनिक गरेका छन् । यही संवादले नेपाली राजनीतिमा नयाँ समीकरणको सम्भावना देखाएको छ । अहिले एउटै प्रश्न उठेको छ–के यो भेटघाट केवल राजनीतिक संकेतमै सीमित हुन्छ, कि साँच्चै जेनजीले चाहेको वैकल्पिक शक्ति एकतामा परिणत हुन्छ ? त्यसको उत्तर भने आगामी दिनका संवाद, निर्णय र व्यवहारले नै दिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *