रवि–बालेन भेटको तरंग, कसरी अँटाउलान् कुलमान?
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेट भएको खबर बाहिरिए पछि नेपालको राजनीतिक वृत्त तरङ्गित भएको छ । भेटमा जेन-जी आन्दोलनपछि विकसित राजनैतिक घटनाक्रम र आगामी चुनावमा कसरी सहकार्य गरेर जाने भन्ने विषयमा छलफल भएको रास्वपा नेता असिम शाहले बताएका छन् । आफ्ना सल्लाहकार कुमार बेनलाई साथमा लगेर कमलपोखरी पुगेका बालेनलाई भेट्न रास्वपाका तर्फबाट सभापति लामिछानेको साथमा डिपी अर्याल सहभागी थिए।
नयाँ राजनैतिक समिकरणको परीदृश्य ?
२०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरको मेयरमा निर्वाचित भएपछि बालेन चर्चाको शिखरमा पुग्न सफल बने। बालेनले चुनाव जितेको ६ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका लामिछानेले ७९ को प्रतिनिधिसभा निर्वाचनमा राम्रो सफलता प्राप्त गरे। त्यसकै बलमा दुई पल्ट चुनाव पनि जिते र दुई पल्ट नै गृहमन्त्री पनि बने । तर, उनको गृहमन्त्री र सांसदको कार्यकाल दुवै टिक्न सकेन । लामिछाने एकपल्ट नागरिकता र पासपोर्टको विवादले पदमुक्त भए भने अर्कोपल्ट सहकारी प्रकरणमा मुछिए । यिनै विकसित घटनाक्रमहरुले वैकल्पिक राजनीतिको मार्ग सहित राजनीति सुरु गरेका दुवै जनाको सुरुवाती दिनहरुको सम्बन्ध भने तिक्ततापूर्ण रहेको चर्चा पनि हुने गरेको थियो । गृहमन्त्री हुँदा रविले सहयोग नगरेको भन्दै बालेन रविसँग निकै रुष्ट थिए भन्ने चर्चा अहिले पनि सुनिन्छ ।
त्यसपछि सहकारी ठगी तथा संगठित अपराधको आरोपमा रवि लामिछाने थुनामा परेपछि बालेनलाई उनको विकल्पका रुपमा पनि हेर्न थालिएको थियो । २०८० कार्तिकमा लामिछाने पक्राउ परेपछि बालेनले नयाँ पार्टी खोलेर जानसक्ने धेरैको बुझाई थियो । र, त्यसको चर्चा आजकै दिनसम्म पनि हुने गरेको छ । तर, भदौ २३ र २४ गतेको आन्दोलनले यी दुवै जनाको राजनैतिक यात्रा नै परिवर्तन गरिदिएको छ ।
अहिले देशैभरबाट सबै नयाँ शक्तिहरु एकै ठाउँमा आउनुपर्ने आवाज उठिरहेको छ। यसैबिच भएको रवि-बालेन भेटवार्ताले नेपाली राजनीतिमा तरङ्ग पैदा गरेको हो । यसअघि, दुई साताअघि भएको कुलमान र बालेन भेटघाटले निकै चर्चा पनि बटुलेको थियो ।
रवि र बालेनको वार्ता गराउन प्रमुख भूमिका खेलेका रास्वपा नेता असिम शाहका अनुसार उनीहरुबीच आगामी राजनैतिक यात्रामा सहकार्य गर्दै अघि बढ्ने सहमति भएको छ । रवि र बालेनको वार्ता सकिए लगत्तै शाहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै लेखेका छन्-
‘अन्ततः कथाको सुखद सुरुवात भएको छ।
रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ।
यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो।
हामी सबै नेपाली लाई बधाई।’
शाहको कमलपोखरीस्थित कार्यालयमा सोमबार साँझ करिब ७ बजेदेखि सुरु भएको वार्ता राति डेढ बजेसम्म चलेको थियो । उनीहरूबीच आगामी चुनावमा सहकार्यको ढाँचा, शक्ति बाँडफाँड र भावी राजनीतिक रणनीतिका विषयमा छलफल भएको बुझिएको छ । यो वार्तापछि दुवैजना सहकार्य गर्ने विषयमा सहमत पनि भएका छन् । निर्वाचनअघि सबै वैकल्पिक शक्तिहरूलाई एकै ठाउँ ल्याउने गरी उनीहरूबीच सोमबार सघन छलफल भएको हो ।
पछिल्लो समय रवि, बालेन र कुलमान वैकल्पिक राजनितिका तीन शक्ति केन्द्रका रुपमा देखिएका छन् । तीन ठाउँमा रहेका रवि–बालेन–कुलमान मिल्दा झनै ठूलो शक्ति बन्ने समर्थकहरुको बुझाई छ । त्यसैले, पनि पूराना राजनैतिक दलहरुलाई काउन्टर दिन रवि–बालेन र कुलमान मिल्न समर्थकहरूले दबाव सिर्जना गरिरहेका छन् ।
त्यस्तै छलफलमा बालेनलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने विषयमा पनि सघन छलफल भइरहेको बताइएको छ । यसअघि एक टेलिभिजन अन्तर्वार्तामा रास्वपा नेता शिशिर खनालले पनि बालेनलाई प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा जाने विषयमा संवाद भइरहेको स्वीकार गरेका थिए । उनले बालेनसँगै कुलमान घिसिङ नेतृत्वको ‘पार्टी उज्यालो नेपाल’सँग सहकार्यको सम्भावनामा समेत छलफल चलिरहेको जानकारी दिए ।
रवि नक्खु कारागारमा हुँदा पनि पनि बालेन र रविबीच अप्रत्यक्ष रुपमा वार्ता भइरहेकै थियो । रवि जेलबाट छुटेपछि सोमबार दोस्रोपटक प्रत्यक्ष वार्ता भएको हो । वार्ता सकिएपछि उनीहरु दुवै एउटै कारबाट बाहिरिनुले पनि उनीहरु एकता उन्मुख भएको सन्देश दिएको छ ।
साथमा देखिएलान रवि, बालेन र कुलमान ?
केही साता अघि भौतिक पुर्वाधार तथा यातायात तथा सहरी विकास तथा उर्जा मन्त्री कुलमान घिसिङ र मेयर बालेन बिच भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा पनि आगामी निर्वाचनमा कसरी सहकार्य गर्ने र सबै वैकल्पिक शक्ति एकै ठाउँमा आउने विषयमा छलफल भएको थियो । ठोस परिणाम देखाउन नसकेको उक्त भेटवार्ता भएको केही समयमै बालेन/रवि भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
पछिल्लो समय रवि, बालेन र कुलमान वैकल्पिक राजनितिका तीन शक्ति केन्द्रका रुपमा देखिएका छन् । तीन ठाउँमा रहेका रवि-बालेन-कुलमान मिल्दा झनै ठूलो शक्ति बन्ने समर्थकहरुको बुझाई छ । त्यसैले, पनि पूराना राजनैतिक दलहरुलाई काउन्टर दिन रवि-बालेन र कुलमान मिल्न समर्थकहरूले दबाव सिर्जना गरिरहेका छन् । यसकै लागि रास्वपाले कुलमानसँग सहकार्य गर्दै अघि बढ्न वार्ता समिति नै खडा गरेको थियो । तर, उक्त वार्ता समितिले कुनै परिणाम भने दिन सकेन । कुलमानले रास्वपाको कार्यवाहक सभापति र प्रधानमन्त्री दाबी गरेका थिए, जसमा रास्वपा सहमत भएन । स्रोतका अनुसार कुलमानलाई प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा अघि सार्न सकिए पनि कार्यवाहक सभापति दिन नसकिने अडान रास्वपाको थियो ।
करीब एक सातासम्म चलेको वार्ता उपलब्धिबिहिन भएपछि घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता गरियो । यता प्रभावशाली मानिएका नेताहरु सुमना श्रेष्ठ र सन्तोष परियारले त पार्टी छोडे पछि रास्वपा कमजोर बन्दै गएजस्तो देखिएको थियो। यही मेसोमा बालेन र कुलमान सँगै बसेको फोटो सार्वजनिक गरेर उज्यालो नेपालले रास्वपामाथि थप दबाव सिर्जना गरेको थियो । जवाफमा रास्वपाले पूर्व एआइजी विश्वराज पोखरेल, पत्रकार राजिव खत्री लगायतलाई पार्टीमा भित्र्याएर रास्वपाको आकर्षण कम नभएको सन्देश दिएको थियो । यतिबेला वैकल्पिक एकताको सम्भावना टर्दै गएको जस्तो देखिएको छ ।
तर, लामिछाने धरौटीमा रिहाई भएलगत्तै बालेनसँगको यो भेटले यो बहसलाई नयाँ दिशमा लगेको छ । अदालतमा मुद्धा चलिरहेकाले चुनाव जिते पनि लामिछाने प्रधानमन्त्री बन्न सक्दैनन् । यस्तो अवस्थामा रास्वपाले बालेनलाई आफ्नो प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा अघि सारेर जाने संकेत दिएपछि बालेनको कित्ता स्पष्ट हुने देखिएको छ । यसले, कुलमानसँगको ‘नेगोसिएसन’मा रास्वपाको हात धेरै माथि भएको छ । आफैं प्रधानमन्त्री हुने दाउ हेरिरहेका कुलमान यो वैकल्पिक ध्रुविकरणमा सामेल हुन सक्लान् त? नयाँ प्रश्न सिर्जना भएको छ ।
