`

रवि–बालेन भेटको तरंग, कसरी अँटाउलान् कुलमान?

Nepal One HD ९ पुष २०८२ १२:२२
प्रमुख खबर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेट भएको खबर बाहिरिए पछि नेपालको राजनीतिक वृत्त तरङ्गित भएको छ । भेटमा जेन-जी आन्दोलनपछि विकसित राजनैतिक घटनाक्रम र आगामी चुनावमा कसरी सहकार्य गरेर जाने भन्ने विषयमा छलफल भएको रास्वपा नेता असिम शाहले बताएका छन् । आफ्ना सल्लाहकार कुमार बेनलाई साथमा लगेर कमलपोखरी पुगेका बालेनलाई भेट्न रास्वपाका तर्फबाट सभापति लामिछानेको साथमा डिपी अर्याल सहभागी थिए।

नयाँ राजनैतिक समिकरणको परीदृश्य

२०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरको मेयरमा निर्वाचित भएपछि बालेन चर्चाको शिखरमा पुग्न सफल बने। बालेनले चुनाव जितेको ६ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका लामिछानेले ७९ को प्रतिनिधिसभा निर्वाचनमा राम्रो सफलता प्राप्त गरे। त्यसकै बलमा दुई पल्ट चुनाव पनि जिते र दुई पल्ट नै गृहमन्त्री पनि बने । तर, उनको गृहमन्त्री र सांसदको कार्यकाल दुवै टिक्न सकेन । लामिछाने एकपल्ट नागरिकता र पासपोर्टको विवादले पदमुक्त भए भने अर्कोपल्ट सहकारी प्रकरणमा मुछिए । यिनै विकसित घटनाक्रमहरुले  वैकल्पिक राजनीतिको मार्ग सहित राजनीति सुरु गरेका दुवै जनाको सुरुवाती दिनहरुको सम्बन्ध भने तिक्ततापूर्ण रहेको चर्चा पनि हुने गरेको थियो । गृहमन्त्री हुँदा रविले सहयोग नगरेको भन्दै बालेन रविसँग निकै रुष्ट थिए भन्ने चर्चा अहिले पनि सुनिन्छ ।

त्यसपछि सहकारी ठगी तथा संगठित अपराधको आरोपमा रवि लामिछाने थुनामा परेपछि बालेनलाई उनको विकल्पका रुपमा पनि हेर्न थालिएको थियो । २०८० कार्तिकमा लामिछाने पक्राउ परेपछि बालेनले नयाँ पार्टी खोलेर जानसक्ने धेरैको बुझाई थियो । र, त्यसको चर्चा आजकै दिनसम्म पनि हुने गरेको छ । तर, भदौ २३ र २४ गतेको आन्दोलनले यी दुवै जनाको राजनैतिक यात्रा नै परिवर्तन गरिदिएको छ ।

अहिले देशैभरबाट सबै नयाँ शक्तिहरु एकै ठाउँमा आउनुपर्ने आवाज उठिरहेको छ। यसैबिच भएको रवि-बालेन भेटवार्ताले नेपाली राजनीतिमा तरङ्ग पैदा गरेको हो । यसअघि, दुई साताअघि भएको कुलमान र बालेन भेटघाटले निकै चर्चा पनि बटुलेको थियो ।

रवि र बालेनको वार्ता गराउन प्रमुख भूमिका खेलेका रास्वपा नेता असिम शाहका अनुसार उनीहरुबीच आगामी राजनैतिक यात्रामा सहकार्य गर्दै अघि बढ्ने सहमति भएको छ । रवि र बालेनको वार्ता सकिए लगत्तै शाहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै लेखेका छन्-

अन्ततः कथाको सुखद सुरुवात भएको छ।

रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ।

यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो।

हामी सबै नेपाली लाई बधाई।’

शाहको कमलपोखरीस्थित कार्यालयमा सोमबार साँझ करिब ७ बजेदेखि सुरु भएको वार्ता राति डेढ बजेसम्म चलेको थियो । उनीहरूबीच आगामी चुनावमा सहकार्यको ढाँचा, शक्ति बाँडफाँड र भावी राजनीतिक रणनीतिका विषयमा छलफल भएको बुझिएको छ । यो वार्तापछि दुवैजना सहकार्य गर्ने विषयमा सहमत पनि भएका छन् । निर्वाचनअघि सबै वैकल्पिक शक्तिहरूलाई एकै ठाउँ ल्याउने गरी उनीहरूबीच सोमबार सघन छलफल भएको हो ।

पछिल्लो समय रवि, बालेन कुलमान वैकल्पिक राजनितिका तीन शक्ति केन्द्रका रुपमा देखिएका छन् तीन ठाउँमा रहेका रविबालेनकुलमान मिल्दा झनै ठूलो शक्ति बन्ने समर्थकहरुको बुझाई त्यसैले, पनि पूराना राजनैतिक दलहरुलाई काउन्टर दिन रविबालेन कुलमान मिल्न समर्थकहरूले दबाव सिर्जना गरिरहेका छन् ।

त्यस्तै छलफलमा बालेनलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने विषयमा पनि सघन छलफल भइरहेको बताइएको छ । यसअघि एक टेलिभिजन अन्तर्वार्तामा रास्वपा नेता शिशिर खनालले पनि बालेनलाई प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा जाने विषयमा संवाद भइरहेको स्वीकार गरेका थिए । उनले बालेनसँगै कुलमान घिसिङ नेतृत्वको ‘पार्टी उज्यालो नेपाल’सँग सहकार्यको सम्भावनामा समेत छलफल चलिरहेको जानकारी दिए ।

रवि नक्खु कारागारमा हुँदा पनि पनि बालेन र रविबीच अप्रत्यक्ष रुपमा वार्ता भइरहेकै थियो । रवि जेलबाट छुटेपछि सोमबार दोस्रोपटक प्रत्यक्ष वार्ता भएको हो । वार्ता सकिएपछि उनीहरु दुवै एउटै कारबाट बाहिरिनुले पनि उनीहरु एकता उन्मुख भएको सन्देश दिएको छ ।

साथमा देखिएलान रवि, बालेन कुलमान

केही साता अघि भौतिक पुर्वाधार तथा यातायात तथा सहरी विकास तथा उर्जा मन्त्री कुलमान घिसिङ र मेयर बालेन बिच भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा पनि आगामी निर्वाचनमा कसरी सहकार्य गर्ने र सबै वैकल्पिक शक्ति एकै ठाउँमा आउने विषयमा छलफल भएको थियो । ठोस परिणाम देखाउन नसकेको उक्त भेटवार्ता भएको केही समयमै बालेन/रवि भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पछिल्लो समय रवि, बालेन र कुलमान वैकल्पिक राजनितिका तीन शक्ति केन्द्रका रुपमा देखिएका छन् । तीन ठाउँमा रहेका रवि-बालेन-कुलमान मिल्दा झनै ठूलो शक्ति बन्ने समर्थकहरुको बुझाई छ । त्यसैले, पनि पूराना राजनैतिक दलहरुलाई काउन्टर दिन रवि-बालेन र कुलमान मिल्न समर्थकहरूले दबाव सिर्जना गरिरहेका छन् । यसकै लागि रास्वपाले कुलमानसँग सहकार्य गर्दै अघि बढ्न वार्ता समिति नै खडा गरेको थियो । तर, उक्त वार्ता समितिले कुनै परिणाम भने दिन सकेन । कुलमानले रास्वपाको कार्यवाहक सभापति र प्रधानमन्त्री दाबी गरेका थिए, जसमा रास्वपा सहमत भएन । स्रोतका अनुसार कुलमानलाई प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा अघि सार्न सकिए पनि कार्यवाहक सभापति दिन नसकिने अडान रास्वपाको थियो ।

करीब एक सातासम्म चलेको वार्ता उपलब्धिबिहिन भएपछि घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता गरियो । यता प्रभावशाली मानिएका नेताहरु सुमना श्रेष्ठ र सन्तोष परियारले त पार्टी छोडे पछि रास्वपा कमजोर बन्दै गएजस्तो देखिएको थियो। यही मेसोमा बालेन र कुलमान सँगै बसेको फोटो सार्वजनिक गरेर उज्यालो नेपालले रास्वपामाथि थप दबाव सिर्जना गरेको थियो । जवाफमा रास्वपाले पूर्व एआइजी विश्वराज पोखरेल, पत्रकार राजिव खत्री लगायतलाई पार्टीमा भित्र्याएर रास्वपाको आकर्षण कम नभएको सन्देश दिएको थियो । यतिबेला वैकल्पिक एकताको सम्भावना टर्दै गएको जस्तो देखिएको छ ।

तर, लामिछाने धरौटीमा रिहाई भएलगत्तै बालेनसँगको यो भेटले यो बहसलाई नयाँ दिशमा लगेको छ । अदालतमा मुद्धा चलिरहेकाले चुनाव जिते पनि लामिछाने प्रधानमन्त्री बन्न सक्दैनन् । यस्तो अवस्थामा रास्वपाले बालेनलाई आफ्नो प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा अघि सारेर जाने संकेत दिएपछि बालेनको कित्ता स्पष्ट हुने देखिएको छ । यसले, कुलमानसँगको ‘नेगोसिएसन’मा रास्वपाको हात धेरै माथि भएको छ । आफैं प्रधानमन्त्री हुने दाउ हेरिरहेका कुलमान यो वैकल्पिक ध्रुविकरणमा सामेल हुन सक्लान् त? नयाँ प्रश्न सिर्जना भएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *