रास्वपाको समानुपातिक आकांक्षी डा. घिमिरे, स्वास्थ्य क्षेत्रको अनुभवलाई नीतिनिर्माणमा लैजाने प्रयास
काठमाडौं । चिकित्सा, युवा आन्दोलन र सुधारमुखी राजनीतिमा सक्रिय व्यक्तित्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको आकांक्षी सूचीमा वरिष्ठ छाला तथा कपाल प्रत्यारोपण रोग विशेषज्ञ डा. रुपक घिमिरे समावेश भएका छन्। डा. घिमिरे हाल रास्वपाको केन्द्रीय अभियान विभागका सदस्य तथा तनहुँ-काठमाडौं सम्पर्क समितिका संयोजक हुन्।
काठमाडौँ विश्वविद्यालयबाट एमबिबिएस र एमडी डर्माटोलोजी गरेका डा. घिमिरेले भारत तथा दक्षिण कोरियाबाट कपाल प्रत्यारोपणसम्बन्धी विशेष तालिम लिएका छन्। काठमाडौँ मेडिकल कलेजमा सहायक प्राध्यापकका रूपमा काम गरेका उनले त्यसपछि उनले दरबारमार्गस्थित ‘आवरण स्किन क्लिनिक’ सञ्चालन गर्दै आएका छन् । यहाँ उनले स्वदेशी मात्र नभई ३० भन्दा बढी मुलुकमा रहेका नेपालीले समेत सेवा लिइरहेका छन्।
स्वास्थ्य क्षेत्रका बेथितिविरूद्ध कडा अडान लिने चिकित्सक राजनीतिमा
डा. घिमिरे नेपाल मेडिकल काउन्सिलका निवर्तमान सदस्य पनि हुने । काउन्सिल सदस्याका रुपमा नेपालको स्वास्थ्य क्षेत्रका विकृतिविरुद्ध खरो रुपमा उभिने चिकित्स्कका रुपमा उनी परिचित छन् । काउन्सिलको सदस्यका रुपमा र एक चिकित्सकका रुपमा उनले नेपालको स्वास्थ्य क्षेत्रमा देखिकएका विकृति विरूद्ध निरन्तर प्रहार गर्दै आएका आएका छन् ।

यसका साथै, उनले नेपालको स्वास्थ्य सेवालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्न सक्रिय भूमिका निर्वाह गरेका थिए। स्वास्थ्य सेवा पारदर्शी, जवाफदेही र प्रविधिमैत्री हुनुपर्ने धारणा राख्दै आएका डा. घिमिरे यही अनुभवलाई नीति निर्माण तहमा लैजाने उद्देश्यसहित राजनीतिमा सक्रिय भएको बताउँछन्। रास्वपाबाट समानुपातिक उम्मेदवारको आकांक्षीका रूपमा उनको नाम अगाडि आएको छ।
राजनीतिमा युवा सहभागिताको वकालत
उनी जेनजी आन्दोलनमा सक्रिय रहेको ‘हामी नेपाल’ का संस्थापक उपसभापति समेत हुन् । उनले पुरुषोत्तम यादवलगायत विभिन्न अभियन्तालाई जोड्दै युवामाझ वैकल्पिक राजनीतिक सोच बिस्तार गर्न पहल गरेका थिए।
स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिक एजेन्डा बनाउँदै आएका डा. घिमिरे युवासँग राम्रो पहुँच राख्ने नेताको रूपमा परिचित छन्। यही पृष्ठभूमिका कारण उनलाई सुधारमुखी राजनीतिमा सम्भावनायुक्त पात्रका रूपमा हेरिन थालिएको छ।

चिकित्सकदेखि कलाकार हुँदै राजनीतिसम्म
डा. घिमिरे चिकित्सक मात्रै नभएर मिस्टर नेपाल २०११ का बिजेता समेत हुन्। सन् २०१५ मा नेपाली चलचित्र चकलेटका नायकको भूमिका निर्वाह गरेका उनले दर्जनभन्दा बढी टेलिभिजन विज्ञापनमा पनि अभिनय गरिसकेका छन्।
कलात्मक पहिचान, अन्तर्राष्ट्रिय चिकित्सा अनुभव र नीतिगत सुधारको अभ्यासलाई एकै ठाउँमा जोड्दै आएका डा. घिमिरेलाई बहुआयामिक व्यक्तित्वका रूपमा चिनिन्छ। यही पृष्ठभूमिले उनलाई रास्वपाको आकांक्षी सूचीमा फरक पहिचान दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेद्वार छनोटका लागि पुष १२ गते शनिबारदेखि पौष १३ गते आइतबार साँझसम्म RSP Mobile App मार्फत आन्तरिक मतदान प्रक्रिया सञ्चालन गर्दैछ। स्वास्थ्य क्षेत्रका अनुभवी चिकित्सक, नीति सुधारक तथा जेन–जी आन्दोलनका सक्रिय अभियन्ता डा. घिमिरेलाई आफ्नो अनुभव र ज्ञानलाई नीति निर्माणमा लैजानका लागि समर्थनका लागि पार्टीपंक्तिसमक्ष आह्वान गरेका छन् । पार्टीभित्र योग्य, सक्षम र इमानदार नेतृत्व चयनका लागि डिजिटल माध्यमबाट सहभागिता जनाउन उनले अनुरोध गरेका हुन् ।
