कांग्रेसमा अब महाधिवेशन कि चुनाव ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशनको अन्योल झन गहिरो बनाएको छ । क्रियाशील सदस्यता टुंग्याउन नसक्दा महाधिवेशन तालिका हेरफेर हुनसक्ने चर्चा चलिरहेका बेला महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले महाधिवेशनअघि नेतृत्व परिवर्तन नभए संसदीय निर्वाचन नलड्ने घोषणा गरेपछि पार्टीभित्र तरंग पैदा भएको छ ।
बैठकमा महामन्त्री शर्माले अबको १६ दिनमै क्रियाशील सदस्यताको काम टुंग्याएर वडा र क्षेत्रीय अधिवेशनपछि सिधै केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरे । महाधिवेशनको मिति केही दिन सार्न सकिने उनको संकेत थियो । तर प्रगति न्यून देखिँदा दुवै महामन्त्री आक्रामक रूपमा प्रस्तुत भए ।
गगन थापाले फागुन २१ को निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन अनिवार्य भएको भन्दै त्यसो नभए आफू चुनाव नलड्ने स्पष्ट चेतावनी दिए । ‘नेतृत्व नफेरिए चुनावमा जान सकिन्न, अरू लड्नुस्, म लड्दिनँ,’ उनको भनाइ थियो । झापा–१ बाट एकल सिफारिस भएका विश्वप्रकाश शर्माले पनि चुनाव नलड्ने घोषणा दोहोर्याउँदै नयाँ र युवा उम्मेदवार अघि सार्नुपर्ने तर्क गरे ।
महामन्त्रीहरूको यस्तो अभिव्यक्तिपछि बैठकमा चर्को असन्तुष्टि देखियो । पार्टी प्रवक्ता डा. प्रकाशशरण महत आक्रोशित हुँदै महामन्त्रीहरूको अभिव्यक्तिले कांग्रेस कमजोर देखिएको आरोप लगाए । ‘नेतृत्व परिवर्तनले मात्र होइन, एकताले पार्टी बलियो हुन्छ,’ उनको भनाइ थियो ।
महाधिवेशनको तालिका सार्वजनिक भए पनि क्रियाशील सदस्यता र तल्ला तहका अधिवेशनमै अड्किएको कांग्रेसमा अब ‘महाधिवेशन कि चुनाव’ भन्ने बहस निर्णायक मोडमा पुगेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । दिउँसो १ः०० बजे बैठक पुनः बस्ने भएको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बुधबारदेखि सुरू बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले धारणा राखिसकेका छन् ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले क्रियाशील सदस्यता टुंग्याएर महाधिवेशनको प्रक्रिया अगाडि बढाउन कुनै कठिनाइ नभएको बताएका छन् । क्रियाशील सदस्यता टुंग्याउनु सबैभन्दा ठूलो चुनौती भएकाले वडादेखिको कार्यतालिका प्रभावित हुने उनको भनाइ छ । निर्णायक ‘क्याम्पेनर’ मानिने महामन्त्रीहरू नै चुनावबाट बाहिरिने चेतावनी दिएपछि कांग्रेस आगामी निर्वाचनमा कुन बाटो समात्छ भन्ने प्रश्न अझ गम्भीर बनेको छ ।
