देउवालाई भेट्न महाराजगञ्ज पुगे सञ्चारमन्त्री खरेल, आजै ओली र प्रचण्डलाई भेट्दै
काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्जस्थित उनको निवास पुगेका छन् । सरकारका प्रवक्ता समेत रहेका खरेलले आज एकै दिन प्रमुख तीन दलका अध्यक्ष एवं सभापतिसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । उनको सचिवालयका अनुसार मन्त्री खरेल सुरुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्न उनकै निवास महाराजगञ्ज पुगेका हुन् ।
देउवालाई भेटेपछि मन्त्री खरेल बिहान ११ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न उनकै निजी निवास गुण्डु पुग्ने छन् । अनि अन्त्यमा सञ्चारमन्त्री खरेल दिउँसो १२ बजे नेपाल कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड भेट्न उनकै निजी निवास पुग्ने कार्यक्रम रहेको मन्त्री खरेलको सचिवालयले जानकारी दिएको छ । यसबीच सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण तयार पार्न सरोकारवाला पक्षसँग समन्वय र संवादलाई तीव्रता दिएको छ । साथै यसबीच सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएका राजनीतिक दलका कार्यालयको अनुगमन पनि गरेको छ ।
