सञ्चारमन्त्रीलाई देउवाले भने–सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाओस्
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन हुने विश्वासिलो वातावरण बनाउन सरकारलाई सुझाव दिएका छन् । शुक्रबार बिहान आफ्नो निवासमा पुगेका सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता जगदिश खरेललाई देउवाले यस्तो सुझाव दिएका हुन् । सरकारले अहिलेसम्म पनि निर्वाचन हुने विश्वसनीय वातावरण नबनाएको भन्दै देउवाले निर्वाचनको वातावरण तत्काल बनाउन सरकारलाई आग्रह गरेका हुन् । सरकारका प्रवक्तासमेत रहेका खरेलले आज प्रमुख तीन दलका अध्यक्ष एवं सभापतिसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।
मन्त्री खरेल सुरुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका हुन् । देउवालाई भेटेपछि मन्त्री खरेल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न गुण्डु पुग्ने छन् । सञ्चारमन्त्री खरेल दिउँसो १२ बजे नेपाल कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड भेट्न उनकै निजी निवास पुग्ने कार्यक्रम रहेको मन्त्री खरेलको सचिवालयले जानकारी दिएको छ ।
