`

प्रदर्शनकारीबाट जोगाउँदा अक्सिजन टुट्यो, केही दिनमै आमा दिवंगत हुनुभयो : लेखक

Nepal One HD १४ पुष २०८२ १६:०३
नेपाली कांग्रेस

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाले देशलाई मात्र होइन, आफ्नो व्यक्तिगत जीवनलाई पनि गहिरो चोट पुर्‍याएको पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले बताएका छन् । सोमबार भदौ २२ र २३ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष लिखित बयान दिँदै लेखकले आन्दोलनका कारण आफूले भोग्नुपरेको मानवीय, भौतिक र भावनात्मक क्षतिबारे विस्तृत जानकारी गराएका हुन् ।

लेखकका अनुसार महेन्द्रनगरका दुईवटा र काठमाडौंको एक घर आगजनी गरी पूर्ण रूपमा नष्ट गरिएको छ । ती घरहरू आफूले कमाएको सम्पत्तिबाट नभई पिता–पुर्खाबाट प्राप्त पैतृक सम्पत्तिबाट निर्माण गरिएको उनले स्पष्ट पारे । ‘पिता पुर्खाको सम्पत्ति खरानी बनाइ दिँदाको पीडा खुकुरीको मार अचानोलाई मात्र थाहा हुन्छ भन्ने उखान जस्तै भएको छ,’ लेखकले बयानमा उल्लेख गरेका छन् ।

सबैभन्दा पीडादायी घटनाका रूपमा लेखकले आफ्नी वृद्ध आमाको निधनलाई उल्लेख गरेका छन् । भाद्र २४ गते आन्दोलनका क्रममा भएको आक्रमणबाट जोगाउने क्रममा अक्सिजनमा आश्रित, सिकिस्त बिरामी आमालाई लामो समय अक्सिजन बिना राखेर अस्पताल पु¥याउनु परेको र त्यसको केही दिनमै आमाको निधन भएको उनले बताएका छन् । उनका अनुसार आन्दोलनको हिंसात्मक अवस्थाले उपचारमा बाधा पु¥याउँदा परिवारले अपूरणीय क्षति व्यहोर्नु परेको हो ।

आन्दोलनका क्रममा लेखकको निजी निवासमा आगलागी हुँदा करिब पाँच हजार पुस्तक तथा महत्वपूर्ण ऐतिहासिक दस्तावेज जलेर नष्ट भएको जानकारी पनि उनले आयोगलाई गराएका छन् । ती दस्तावेजमा दश वर्षे सशस्त्र द्वन्द्वपछि तत्कालीन सात दल र माओवादीबीच भएको शान्ति वार्ता, अन्तरिम संविधान, वर्तमान संविधान निर्माण प्रक्रियासँग सम्बन्धित औपचारिक तथा अनौपचारिक वार्ता, संवाद, छलफल र सहमतिका टिपोट तथा संकलनहरू रहेको उनले बताएका छन् । ‘यस्ता दस्तावेज व्यक्तिगत मात्र होइन, राष्ट्रकै ऐतिहासिक सम्पत्ति थिए,’ लेखकको भनाइ छ ।

लेखकले आफूलाई संविधानविपरित काठमाडौं उपत्यकाभित्र स्थानहद तोकिएको र राहदानी समेत रोक्का गरिएकोप्रति गम्भीर आपत्ति जनाएका छन् । आयोगको सिफारिसमा नेपाल सरकारले तीन महिना अघि यस्तो निर्णय गरेको कुरा आफूले सञ्चार माध्यमबाट मात्र थाहा पाएको भन्दै उनले कुनै लिखित वा मौखिक जानकारी नदिइएको बताए ।

‘कुन कानुनी व्यवस्था अनुसार, के प्रयोजनका लागि, कति अवधिका लागि स्थानहद र राहदानी रोक्का गरिएको हो भन्नेबारे मलाई सोध्ने वा जवाफ दिने मौका नै दिइएन,’ उनले भने । यस्तो प्रक्रिया विधिको शासन र स्वच्छ सुनुवाइको सिद्धान्तविपरित भएको उनको ठहर छ । पूर्व गृहमन्त्री लेखकले जेनजी आन्दोलनका क्रममा बल प्रयोग गर्न आफूले कुनै आदेश नदिएको र त्यसका लागि कानुनी व्यवस्था नै नरहेको स्पष्ट पारेका छन् । आन्दोलनका क्रममा आफ्नै निजी सम्पत्तिमा समेत आगजनी भएको उल्लेख गर्दै उनले आफू व्यक्तिगत पीडाभन्दा मुलुकले व्यहोरेको क्षतिप्रति बढी चिन्तित रहेको बताए । ‘सिंगो देश नै खरानी बनाइएका बेला मेरो व्यक्तिगत पीडालाई मैले गौण ठानेको छु,’ लेखकले बयानको अन्त्यमा उल्लेख गरेका छन् ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *