कुलमानलाई रास्वपाको उपसभापति बनाउने सहमति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आगामी निर्वाचनलाई लक्षित गर्दै संयुक्त सहकार्य गर्ने सहमति भएको छ । सहमतिअनुसार कुलमान घिसिङ रास्वपाको उपसभापति बन्ने भएका छन् भने तीनै जना एकै राजनीतिक मोर्चाबाट निर्वाचनमा अघि बढ्ने भएका छन् ।
यसअघि नै रास्वपाले बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने आन्तरिक सहमति गरिसकेको थियो । आइतबार बालेन र रास्वपा सभापति रवि लामिछानेबीच भएको छलफलमा भने कुलमान घिसिङ सहभागी थिएनन् । त्यसपछि बालेन र रविले पटक–पटक कुलमानसँग वार्ता गर्दै सहमतिमा ल्याउने प्रयास गरेका थिए ।
सोमबार कुलमान घिसिङ र रवि लामिछानेबीच भएको भेटवार्तापछि अन्ततः उनीहरू समानुपातिकतर्फ एउटै दलको बन्द सूचीमार्फत निर्वाचनमा जाने सहमतिमा पुगेका हुन् । रास्वपाका उपसभापति डीपी अर्यालले तीनै जनाबीच सहमति भइसकेको पुष्टि गर्दै सहमतिपत्रमा हस्ताक्षरको प्रक्रिया अघि बढिरहेको जानकारी दिए ।
आइतबारको प्रारम्भिक सहमतिमा छुटेका कुलमानलाई समेट्न जेन–जी अभियानीहरूको सक्रिय भूमिका देखिएको थियो । सुदन गुरुङलगायतका केही अभियानीहरूले कुलमानलाई प्रत्यक्ष रूपमा बालेन र रविसँग वार्तामा सहभागी गराउँदै सहजीकरण गरेका थिए । स्रोतका अनुसार उनीहरूकै पहलमा कुलमान, बालेन र रविबीच निर्णायक संवाद सम्भव भएको हो ।
वार्ताका क्रममा कुलमान घिसिङले सुरुमा रास्वपामा सह–सभापति पदको माग गरेका थिए । साथै, केन्द्रीय समिति, समानुपातिक सूची र प्रत्यक्ष उम्मेदवारमा उज्यालो नेपाल पार्टीलाई ३० प्रतिशत हिस्सा दिनुपर्ने प्रस्ताव पनि राखेका थिए । तर रास्वपा पक्षले नयाँ राजनीतिक शक्तिका लागि उक्त माग अत्यधिक भएको भन्दै १५ प्रतिशतभन्दा बढी दिन नसकिने स्पष्ट पारेको थियो ।
त्यसपछि रास्वपाले सह–सभापति होइन, उपसभापति पद प्रस्ताव गरेको थियो । सुरुमा कुलमानले यो प्रस्ताव अस्वीकार गरेपछि वार्ता अनिर्णित बनेको थियो । तर जेन–जी अभियानीहरूको निरन्तर पहलपछि कुलमान उपसभापति पदमा सहमत भएका हुन् । यस सहमतिसँगै रास्वपा, बालेन शाह र कुलमान घिसिङको संयुक्त राजनीतिक यात्रा औपचारिक रूपमा सुरु हुने संकेत देखिएको छ । नयाँ पुस्ता, वैकल्पिक राजनीति र प्रशासनिक अनुभवको संयोजनले आगामी निर्वाचनमा कस्तो प्रभाव पार्ला भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ ।
