मधेस मन्त्रिपरिषदले पायो पूर्णता : एकै पटक ६ मन्त्रीले लिए शपथ
काठमाडौँ । मधेस प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । आज मुख्यमन्त्री कृष्णप्रसाद यादवले एकै पटक ६ मन्त्री थप गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । नवनियुक्त मन्त्रीहरूले आजै शपथ ग्रहण समेत गरेका छन् । उनीहरूलाई प्रदेश प्रमुख डा। सुरेन्द्र लाभले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मन्त्रिपरिषद् विस्तारसँगै मधेस प्रदेश सरकार मुख्यमन्त्रीसहित १२ सदस्यीय भएको छ । केही बेरअघि मधेस सरकारमा जसपाबाट २, कांग्रेसबाट २, जनमतबाट १ र माओवादी केन्द्रबाट १ जना मन्त्री नियुक्त भएका हुन् ।
जसपाबाट राजकुमार गुप्ता भौतिक पूर्वाधार र मनिष सुमन श्रम तथा यातायातमन्त्री नियुक्त भएका छन् । त्यसैगरी कांग्रेसबाट श्याम पटेल कृषि र शंकर चौधरी वनमन्त्री बनेका छन्। जनमतबाट वसन्त कुशवाहा युवा तथा खेलकूदमन्त्री बनेका छन् भने माओवादी केन्द्रबाट फकिरा महतोले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । गत मंसिर १९ गते ७ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनी कांग्रेससहित जसपा, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन् । तर उनलाई सत्ता बाहिर रहेको एमाले, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीले समेत विश्वासको मत दिएका थिए । यसअघि मधेसमा माओवादी केन्द्रबाट जवाहरलाल कुशवाह ऊर्जा, लोसपाबाट रानी कुमारी तिवारी शिक्षा तथा संस्कृति, कांग्रेसका जंगीलाल राय स्वास्थ्य, एकीकृत समाजवादीका कनिष पटेल उद्योग र जनमतका महेश यादव अर्थमन्त्री बनिसकेका थिए ।

