`

मलाई भगाएको मानिस थुनियो, लुट्ने थुनिएन : प्रकाशशरण महत

Nepal One HD १६ पुष २०८२ १६:४३
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले लोकतान्त्रिक विधि नमान्दा देशमा झन ठूलो समस्या दोहोरिने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा उनले भदौ २३ र २४ गते भएका घटनालाई छुट्टाछुट्टै रूपमा हेर्नुपर्ने भन्दै दुवै दिन कानुन मिच्नेहरूमाथि कारबाही हुनुपर्ने स्पष्ट पारे । महतले भदौ २३ गते उठाइएका मागहरू ठिक भएको बताए । तर सरकारले त्यस दिन अत्यधिक बल प्रयोग गरेको स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।

‘सरकार सुन्न सक्ने हुनुपर्छ,’ उनले भने, ‘तर २४ गते भएको विध्वंश पनि गलत हो ।’ उनले २३ गते कानुन मिच्ने र २४ गते कानुन मिच्ने दुवैलाई कानुनी कठघरामा ल्याउनु पर्ने बताए । आफूलाई भगाउने व्यक्ति पक्राउ परे पनि लुटपाट गर्ने व्यक्ति भने नसमातिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

‘मलाई भगाएको मानिस थुनियो, लुट्ने थुनिएन,’ उनले भने, ‘अदालतमा पठाएपछि बाहिर आएको हो ।’ महतका अनुसार २३ र २४ गतेका घटनालाई एउटै रूपमा हेर्न मिल्दैन। उनले लोकतान्त्रिक विधि नअपनाउँदा समस्या निरन्तर दोहोरिने बताए । देश निर्वाचनतर्फ गइसकेको उल्लेख गर्दै उनले नयाँ संसद्ले विगतका कमी–कमजोरीको समीक्षा गर्ने बताए ।

भदौ २४ गतेको घटनाले देशलाई ठूलो आर्थिक क्षति पुगेको भन्दै अन्तर्राष्ट्रिय आंकलनअनुसार करिब दुई वर्षको बजेट बराबर नोक्सानी भएको उनले दाबी गरे । उनले त्यस घटनाले लगानीको वातावरण अत्यन्तै खराब बनेको बताए । विदेशी लगानी आउन नसकेको र स्वदेशी पुँजी पलायन तीव्र रूपमा भइरहेको उनको भनाइ छ । ‘महत्वाकांक्षा धेरै छ, तर उपलब्धि पुगेको छैन,’ उनले भने, ‘रोजगारी हुँदाहुँदै पनि विदेश जाने प्रवृत्ति बढेको छ ।’ महतले समाज सामाजिक सञ्जाल र भावनामा बग्नु अहिले विश्वव्यापी चुनौती बनेको बताए । सबै समस्याको समाधान कानुनभित्रै खोज्नुपर्नेमा जोड दिँदै उनले २३ र २४ दुबै दिनका दोषीलाई अनिवार्य रूपमा कारबाही गर्नुपर्ने बताए । ‘कानुनी शासन सबैले पालना गर्नुपर्छ,’ उनले भने, ‘यसले मात्रै लगानीको वातावरण बन्छ । अहिले यत्तिकै छोडियो भने भोलि फेरि यस्तै हुनसक्छ, त्यसैले कानुनी दायरामा ल्याउनै पर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *